लम्जुङ भुकम्प : पहिलो भूकम्पपछि ‘दुई दर्जनभन्दा बढी पराकम्प’, केही मानिस घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते १३:११
लम्जुङ भुकम्प : पहिलो भूकम्पपछि ‘दुई दर्जनभन्दा बढी पराकम्प’, केही मानिस घाइते

पश्चिम नेपालको लमजुङ जिल्लामा बुधवार बिहान गएका भूकम्पहरूका कारण कम्तीमा दुई दर्जन घरमा क्षति पुगेको तथा केही मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

ती भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेनजिकै भएको बताइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ :४२ बजे ‘लोकल म्याग्निट्यूड’ ५.८ र ८:२६ बजे लोकल म्याग्निट्यूड ५.४ का भूकम्प मापन गरिएको थियो। त्यसपछि दर्जनौँ साना परकम्पहरू मापन गरिएको छ।

लमजुङमा अहिले गएका भूकम्पहरू गोरखा भूकम्पकै परकम्प भएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले स्पष्ट गरेको छ ।

बिहानको पहिलो भूकम्पपछि लोकल म्याग्निट्यूड ४.० भन्दा तलका झन्डै दुई दर्जन परकम्प गइसकेको केन्द्रले जानकारी दिएको छ।

पटकपटक भूकम्प गएकाले स्थानीय बासिन्दाहरू त्रासका कारण घरबाहिर निस्केका थिए।

नेपाल भूकम्प

काठमाण्डूमा पनि महसुस

भूकम्पको पहिलो धक्का छिमेकी जिल्लाहरू गोरखा, तनहुँ, कास्की र राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो ।

गोरखा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकबाट भुलभुले झन्डै ३३ किमी पश्चिममा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक जगदीश रेग्मीले दिएको जानकारीअनुसार भूकम्पले घर भत्केर घाइते भएकाहरू केहीको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

छतबाट हाम फाल्दा घाइते भएका मर्स्याङदी-६ का २२ वर्षीय पुरुषलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए । सामान्य घाइते भएका चार जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ।

अहिलेसम्म कसैको मृत्यु वा घरहरू पूर्ण रूपमा क्षति भएको जानकारी नआएको र दुई दर्जनभन्दा बढी टिनको छानो भएका घरहरूको गारो भत्केका र कतिपय घरहरू चर्केको जानकारी प्रहरी कार्यालयले दिएको छ।-बिबिसी

प्रकाशित : २०७८ जेठ ५ गते १३:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI