मुख्यमन्त्री गुरुङ ओली पथमा लागे : नेता नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १६ गते १६:०२
मुख्यमन्त्री गुरुङ ओली पथमा लागे : नेता नेपाली

पोखरा । गण्डकी प्रदेशका काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीको कदम विरुद्ध फैसला गर्दा समेत नैतिकताका आधारमा राजीनामा नगरी पदमै टाँसिएर बसेको ओप लगाएका छन् । आइतबार देखि सुरु भएको प्रदेश सभाको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालीले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को प्रतिगामी कदम चाल्दै आगाडि बढ्दा समेत राष्ट्रपति प्रधानमन्त्रीको मतियार बनेकाले मुलुक अस्थिरतामा फसेको आरोप लगाए । उनले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाका बहुमत सदस्य १४६ जनाको हस्ताक्षर बुझाउँदा समेत राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको मतियार बनेर अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताए ।

उनले सरकारले ल्याएको बजेट देखावटी र टालटुले भ्रमको पुलिन्दाका रुपमा आएको आरोप लगाए । ‘सरकारले चुनावमा प्रभाव पार्ने गरी ठुला सपना देखाएर बजेटमार्फत जनतालाई भ्रममा पार्न खोजेका छन’ उनले भने । ‘सरकारले नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशमार्फत ल्याएर कानुन र संसदको नै अपमान गरियो ।’

नेता नेपालीले गण्डकी प्रदेशका मुख्यमन्त्री समेत प्रधानमन्त्री ओलीको मतियार बनेर ओली पथमा लागेको आरोप लगाए । उनले संवैधानिक प्रक्रियाअनुसार प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याएकोमा मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावबाट भागेर राजीनामा दिएको बताए ।

उनले अविश्वास प्रस्ताव प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुख समक्ष संसदमा दुई वा दुईभन्दा धेरै दलको हस्ताक्षर बुझाउँदा समेत गुरुङलाई नियुक्ति गरेर संविधान मर्यादा उलंघन गरेको आरोप लगाए ।  उनले प्रदेश सरकार कोरोना संक्रमणमा पुर्णरुपमा असफल भएको बताए ।

‘स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका मुख्यमन्त्री गुरुङले प्रदेशमा अक्सिजन र आवस्यक जनशक्ति पर्याप्त भएको बताएको भोलिपल्टै पोखरामा अक्सिजनको अभावमा ८ जनाको मृत्यु भयो’ उनले भने । ‘त्यो दुःखद घटनाका वारेमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका मुख्यमन्त्री गुरुङले तत्काल माफी माग्नुपर्छ ।’

प्रकाशित : २०७८ जेठ १६ गते १६:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI