पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो, ११ विद्यार्थी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २२ गते १९:१७
पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो, ११ विद्यार्थी पक्राउ

काठमाडौं । शुक्रबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोको विरोध शुरु भएको छ ।

मन्त्रीको रुपमा पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै काठमाडौंको बानेश्वरमा उनको पुत्ला जलाइएको छ । महतोले ‘बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन’ आफूले अहिले पनि सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्ति विरुद्ध उनको पुत्ला जलाइएको हो ।

महतोको पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुको अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित एक दर्जन विद्यार्थीहरु पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सचिब टपेन्द्र शाही र मेधनाथ चापागाईं पनि छन् ।

नेताहरु हर्क बम, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पनि पक्राउ परेको नेता अशोक थापाले जानकारी दिए । सो क्रममा प्रहरी र विद्यार्थीबीच भएको घम्साघम्सीका क्रममा अध्यक्ष पराजुली घाइते भएका छन् । उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लब लगिएको छ । संविधान विरोध अभिव्यक्ति दिएको भन्दै महतोको चौतर्फी विरोध भइरहेको छ ।

शुक्रबार साँझ पदभार ग्रहणपछि उनले आफ्ना सवालहरुसहित वैकल्पिक शक्तिका रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको बताउँदै बहुल राष्ट्रिय राज्य अभियानमा पनि रहेको बताएका थिए ।

प्रकाशित : २०७८ जेठ २२ गते १९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI