चिया कि कफी ? कुन ठीक !

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते ७:१६
चिया कि कफी ? कुन ठीक !

बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् ।

तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिमागलाई सतर्क बनाउने, बढी आराम दिलाउने अथवा कम साइड इफेक्ट हुन्छ भन्ने विश्वासका आधारमा चिया र कफीमध्ये छनोट गरिरहेका हुन्छौँ । यसरी व्यक्तिगत धारणाबाहेक चिया र कफीमा कुन धेरै ठीक भन्ने सम्बन्धी केही प्रमाण या उपयुक्त कारणहरु छन् त ?

जस्तै तुलना नै गर्ने हो भने चिया र कफीमा हुने ‘क्याफिन’ को मात्रा फरक छ । कत्तिको कडा छ र कसरी बनाइएको छ भन्नेमा पनि यो भर पर्छ । तर पनि प्रायः चियाभन्दा कफीमै धेरै क्याफिन हुने गर्दछ । र क्याफिनले हामीलाई ब्युँझिरहन र फुर्तिलो राख्न अनि दिमागलाई सतर्क पार्नमा मद्दत गर्दछ भन्ने विश्वासकै आधारमा धेरैले कफी रोज्ने गर्दछन् । तर वास्तविक अनुसन्धानले भने यति सजिलै यस्तो दाबी गर्न नसकिने देखाउँछ ।

यसमा कमदेखि मध्यम मात्रामा (४०–३०० ग्राम) क्याफिन अर्थात एक कप कफीमा हुने क्याफिनले मान्छेलाई सतर्क राख्नमा, ध्यान बढाउनमा र प्रतिक्रियाको समयमा सुधार ल्याउन मद्दत गर्ने पत्ता लागेको छ । तर अर्कोतर्फ यसले हाम्रो स्मरण शक्ति, निर्णय लिने अनि के सहि के गलत भनेर छुट्याउने क्षमतामा भने अनियमित प्रभाव पार्ने गरेको पनि पाइएको छ ।

त्यस्तै चियामा हुने क्याफिनको असरबारे पनि विभिन्न प्रमाणहरु फेला परेका छन् । नियमित सेवन गरिरहने हो भने चियामा पाइने ‘एमिनो एसिड’, जसलाई ‘एल–थिएनाइन’ पनि भनिन्छ, यसले क्याफिनको असरलाई विस्तार गराउनमा मद्दत गर्दछ ।

रिसर्चका अनुसार एल–थिएनाइनले क्याफिनसँग अन्र्तक्रिया गरि ध्यान बढाउने र विकर्षण हुन नदिने हिसाबमा व्यक्तिगत प्रस्तुती बढाउन सक्छ । त्यसैले चियाले हामीलाई सतर्क अनि फुर्तिलो राख्छ भन्ने विश्वास गर्नु कुनै गलत नभएको पाइएको हो ।

तर क्याफिनको एउटा नराम्रो पक्ष भनेको ५ देखि ६ घण्टापछि सम्म पनि हामीले सेवन गरेको झन्डै आधा क्याफिनको मात्रा शरीरमै रहिरहन्छ र यति मात्र नभइ त्यसको एक चौथाइ १० देखि १२ घण्टासम्म शारीरिक प्रणालीमा बसिरहने हुँदा यसले निद्रामा असर पार्ने देखिएको छ । यसमा कतिपय मानिसहरुले बेलुकाको खानासँग कडा कफी या एस्प्रेसो खाँदा पनि मजाले निदाउने गरेको बताउने गर्दछन् तर निदाए पनि क्याफिनले वास्तवमै हाम्रो शरीरलाई आवश्यक गहिरो निद्राको समय कम गराउने विश्लेषक म्याट वाकर बताउँछन् । उनका अनुसार क्याफिन खाएको नतिजा स्वरुप अर्को दिन बिहान उठ्दा सो व्यक्तिले ताजा महसुस गर्न सक्दैन ।

अर्को अध्ययनले चाहिँ के निष्कर्ष निकालेको छ भने, दिनभर चिया पिउने गर्दा त्यसबाट पनि कफीको जस्तै दिमाग सतर्क हुने गर्दछ । र कफीको भन्दा थोरै क्याफिन भएपनि यसले निद्रामा अवरोध पुर्याउन सक्छ । त्यसैले पनि स्वास्थ्यविद्हरुले कुनैपनि किसिमका क्याफिनयुक्त खानेकुरा सुत्नु अगाडि सेवन नगर्न सुझाव दिने गरेका छन् ।

यसैगरी कतिपय मानिसहरुले चाहिँ आरामदायक अनुभूतिका लागि तातो चिया रोज्ने गरेका छन् । युनिभर्सिटी कलेज लन्डनको रिसर्चका अनुसार कालो चिया पिउनुले दैनिक जीवनको स्ट्रेसबाट राहत दिलाउन मद्दत पनि गर्दछ । तर यसमा चियामा हुने कुन पदार्थले मान्छेलाई आराम दिलाउन र स्ट्रेसमुक्त राख्न मद्दत गर्छ भन्ने चाहिँ पत्ता लागेको छैन ।

कम क्याफिनयुक्त ‘ग्रिन–टी’ पनि केही मानिसहरुमा स्ट्रेस कम गर्नमा लाभदायक पाइएको छ । अनुसन्धानकर्ताहरुले यसका लागि एल थिएनाइनलाई जिम्मेवार ठहर्याएका छन् जसले एन्जाइटी र स्ट्रेस कम गर्न सक्ने बताइएको छ । तर एल थिएनाइन कालो चियामा एकदम कम मात्रामा हुने गर्दछ ।

कफी र स्ट्रेसबीचको सम्बन्धबारे धेरै रिसर्च गरिएको छैन तर वैज्ञानिकहरुले मध्यमदेखि उच्च मात्रामा क्यफिन सेवन गर्नुले ‘एन्जाइटी’ को स्तर बढाउने गरेको प्रमाणित गरिसकेका छन् । एनएचएसको दिशानिर्देशनमा पनि अत्याधिक धेरै कफीले हामीमा, सामान्य अवस्थामा भन्दा धेरै चिन्ता र डर अर्थात एन्जाइटी उत्पन्न गराउनेबारे उल्लेख गरिएको छ । यसकारण आराम प्राप्त गर्नका लागि क्याफिनमुक्त पेय पदार्थ सेवन गर्न सुझाव दिने गरेको छ ।

चिया र कफी कुनले दाँतमा बढी असर पार्छ ?

प्रमाणहरुले के देखाएको छ भने कफीभन्दा चियाले धेरै दाँतमा दाग पैदा गराउँछ । तर पनि  दुवैले दाँतमा केही न केही स्तरमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । डेन्टल हाइजिनिस्ट एना मिडलटनले चिया या कफी खानासाथै मुख कुला गर्ने, आइसयुक्त चिया या कफी खाँदा स्ट्रको प्रयोग गर्ने र बढी चिया कफी खाने व्यक्तिले दाँतको विशेष ख्याल गर्नुपर्ने सुझाव दिएकी छन् । त्यस्तै यसको लत लागेकाहरुले दुधलगायत वैकल्पिक पेय पदार्थ अपनाउन भनेकी हुन् ।

स्वास्थ्यका लागि कुन बढी लाभदायक ?

सन्तुलित डायटका रुपमा चिया र कफी दुवैको सेवन ठीकै मानिन्छ । तर क्याफिनयुक्त पेय पदार्थले छिटो पिशाब लाग्ने हुँदा शरीर डिहाइड्रेट हुने या पानीको कमी हुने समस्या हुन्छ ।

त्यस्तै चिया र कफी दुवैमा ‘पोलीफेनोल’ नामक तत्व हुन्छ जुन हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा अझ चिया भन्दा कफीमा बढी पोलिफेनोल हुने अध्ययनले देखाएको छ । चिया र कफी दुवैलाई विभिन्न किसिमका स्वास्थ्य लाभसँग जोड्ने गरिएको छ । जस्तै कि यसले टाइप २ डाइबटिजको जोखिम कम गराउन सक्छ । तर दिनमा अत्याधिक मात्रा जस्तै चार कप भन्दा बढी सेवन गर्दा चाहिँ यसले रक्तचाप बढाउने लगायत स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ ।

त्यस्तै कतिपय मानिसहरु क्याफिनप्रति संवेदनशील पनि हुन्छन् जस्तै यसले पाचन प्रणालीमा असर पुर्याउने देखि, निद्रा नलाग्ने, एन्जाइटी गराउने हुन्छ । यस्तो समस्या भएमा हामीले कफीको सट्टा चिया नै रोज्दा ठीक हुनेछ ।

त्यस्तै क्याफिनको लत लाग्नु पनि हानिकारक हुन्छ र यसलाई छुटाउन धेरै कठिन हुन्छ । विशेषगरी कफी खाने बानी लागेकाहरुमा यसको लत छुटाउन एकदम गाह्रो पर्ने र विभिन्न नराम्रा असरहरु देखा पर्ने गर्दछ ।

त्यसैले स्वास्थ्यविद्हरुले गर्भवती महिलाहरुलाई क्याफिनयुक्त पेय पदार्थको मात्रा सधैँ सीमित राख्न सुुझाव दिने गर्दछन् ।

ससाना बालबालिकाका लागि पनि क्याफिन राम्रो नहुने बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । बीबीसीबाट

प्रकाशित : २०७८ जेठ २४ गते ७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI