आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २५ गते ८:११
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ ।

काठमाडौं उपत्यकासहित प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ असार २५ गते ८:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI