नवलपुरमा शिक्षकहरूको धर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २५ गते १८:३६
नवलपुरमा शिक्षकहरूको धर्ना

गोविन्द रिमाल/कावासोती

नेपाल शिक्षक महासंघ नवलपुरले केन्द्रीय समितिको आव्हानमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई कावासोतीमा धर्ना गरिएको हो ।

नेपाल सरकारसँग शिक्षकका हकहित र अधिकार सुनिश्चित हुनेगरी महासंघले ३२ सुत्रीय माग राखेको छ । यतिबेला चौथो चरणको आन्दोलन चलिरहेको जानकारी शिक्षक नेता रेशम कोइरालाले दिनुभयो । कार्यक्रमका वक्ताहरूले आन्दोलन शिक्षक र शिक्षाका समग्र समस्याको दीर्घकालीन समाधानको मार्गचित्र कोर्नमा सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । सरकार र राजनीति पार्टीकै नीति तथा कार्यक्रमकै जगमा टेकेर शैक्षिक विकास र समृद्धिका लागि ३२ सुत्रीय माग पेश गरिएको र सो पूरा नभएमा थप सशक्त आन्दोलन अगाडि बढाइने जानकारी राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बिक्रम झाले दिनुभयो ।

कार्यक्रममा शिक्षक नेताहरू चूडामणि शर्मा कण्डेल, सुमित्रा लम्साल, नारायण अर्याल, मणिकण्ठ कण्डेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले शिक्षक मागलाई संबोधन गर्न सरकार लचिलो हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रम नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य संस्थागत सहसचिव नारायण भण्डारीले राख्नुभएको थियो । आफ्ना मागहरू पूरा नभए भाद्र ११ पछि पाँचौ चरणको आन्दोलनलाई थप सशक्त पार्ने तयारी महासंघको रहेको छ ।

प्रकाशित : २०७८ असार २५ गते १८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI