विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २६ गते ११:१३
विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या

विराटनगर : पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो।

मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ।

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याइए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए। उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो।

‘अति नै गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पुर्‍याएको केही बेरमै चिकित्सकले मृत घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भएपनि कुन हतियार हो भन्ने यकिन भएको छैन।

‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर रगत लतपतिएको छ।’उनले दाजुको हत्यामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए। उनले सोकेसको सिसाले प्रहार गरेको प्रहरीलाई बताएका छन्। दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो।

हत्यामा संलग्न साजन आफैँ घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साजनले मापसे गरेर घटना गराएको पाइएको छ। प्रहरीका अनुसार उनी लागुऔषधका दुव्र्यसनी पनि भएको खुलेको छ। विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो।

मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्। अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए। आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले बताए। उनका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए। तर कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण कार्यालय फर्कन सम्भव नभएको भट्टराईको भनाइ छ। 

 दाजुको हत्यामा संलग्न साजन सिंह।

पारिवारिक स्रोतका अनुसार भोलाले एम्बुलेन्समा चढेर शुक्रबार बिहान कार्यक्षेत्र फर्किन खोजेका थिए। प्रहरीका अनुसार खोटाङ जाने एम्बुलेन्स पनि खोजेर ठिक्क पारेका भोलाले अन्तिम समयमा एम्बुलेन्सले नभ्याएपछि घरमै रोकिनु परेको थियो। उनका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन्।

यता दाजुको हत्यामा संलग्न साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको परिवारले जनाएको छ। ‘सधैँ मादक पदार्थ र लागुऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘झैझगडा र अत्याचार सहन नसकेपछि श्रीमतीले सम्बन्ध विच्छेद गरेको पाइएको छ।’
उनीसँग सम्बन्ध विच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन्। आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले बारम्बार विवाद गरेर परिवारमा झैझगडा गर्ने गरेको स्थानीयको भनाइ छ। श्रीमतीलाई मिलिरहेको पारिवारिक समर्थनको विरोधमा रहेका साजनले शुक्रबार राति त्यही विषयमा विवाद गरेको र सम्झाईबुझाई गरिरहेका दाजुको हत्या नै गरिदिएको प्रहरीको भनाइ छ।
घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको एसपी जिसीले बताए। दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान थालिने उनको भनाइ छ।

प्रकाशित : २०७८ असार २६ गते ११:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI