काँग्रेस क्रियाशील सदस्यता छानबिन टुङ्गिनै सकस : तल्ला तहका अधिवेशन सर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते ९:५७
काँग्रेस क्रियाशील सदस्यता छानबिन टुङ्गिनै सकस : तल्ला तहका अधिवेशन सर्ने

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनका लागि सबै भन्दा महत्त्वपूर्ण मानिएको क्रियाशील सदस्यताको काम अझै सकिएको छैन ।  पूर्व निर्धारित कार्य तालिका अनुसार २० गते भित्र नै क्रियाशील सदस्यता छानबिनको काम सकिनु पर्नेमा तोकिएको मितिको ११ दिन बित्दा पनि सकिएको छैन । कार्यपालिका अनुसार हिजो बुधवार नै क्रियाशील सदस्यता सम्बन्धी सूचीमा पार्टी सभापतिले हस्ताक्षर गरिसक्नु पर्ने थियो भने आज निर्वाचन समितिलाई बुझाउनु पर्ने थियो ।

तर, अझै पनि सदस्यताको छानबिनको काम नै नसकिएका कारण फेरी पनि अधिवेशनको कार्यपालिका संशोधन गर्नु पर्ने अवस्था बन्दै गएको छ । जस कारण महाधिवेशनको मितिसमेत केही दिन धकेलिन सक्ने अनुमान गर्न थालिएको छ ।

काँग्रेसले सदस्यता छानबिनका लागि बनाएको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले १६५ निर्वाचन क्षेत्र मध्ये अब २२ निर्वाचन क्षेत्रको मात्रै सदस्यता छानबिन बाँकी रहेको जानकारी दिए ।  उनका अनुसार १४३ निर्वाचन क्षेत्रको सदस्यता छानबिनको काम भने सकिएको छ । यसै गरी १४३ क्षेत्रको सदस्यता छानबिन गर्दा ७० वटा वडाका सदस्यतामा विवाद देखिएपछि स्थगित गरिएको छ । विवाद देखिएका धेरै तराइका जिल्ला छन् ।

काँग्रेसले सदस्यताकै विषयसहित १४औँ महाधिवेशनका लागि पूर्व निर्धारित कार्य तालिका समेतका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्ने तयारी गरेको भए पनि स्थगित भएको छ । बैठकमार्फत पूर्व निर्धारित तालिकालाई संशोधन गर्ने काँग्रेस शीर्ष नेतृत्वको तयारी छ ।

पूर्व निर्धारित कार्यपालिका अनुसार १२ साउनबाट काँग्रेसको तल्ला तह अन्तर्गत वडा तहको अधिवेशन सुरु हुनु पर्ने छ । तर अब यो सम्भावना टरिसकेको छ ।

काँग्रेसका एक नेता भन्छन्, ‘अब १२ गते होइन २२ गते पनि अधिवेशन सुरु हुन गाह्रो छ, ११ दिन त कार्यपालिका नै धकेलिसकेको छ, अब अधिवेशनमै शङ्का छ ।’

सदस्यता विवाद नटुङ्गिएपछि नेताहरू तत्काललाई तल्लो तहको अधिवेशनको कार्यपालिका केही दिन सार्ने पक्षमा रहेको ती नेताले जानकारी दिए । ‘अब अधिवेशन सर्छ यसमा कुनै शङ्का छैन, पार्टी सभापति प्रधानमन्त्री हुनु भएपछि शीर्ष नेताहरू बैठकसमेत बस्न नसकेको अवस्था छ ।’ ती नेताले भने ।  काँग्रेसले पार्टीको १४औँ महाधिवेशन भने १६ देखि १९ भदौसम्मका लागि तय गरेको छ ।

प्रकाशित : २०७८ साउन १ गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI