कांग्रेस : स्थानीय तहको अधिवेशनमामा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते १०:१२
कांग्रेस : स्थानीय तहको अधिवेशनमामा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता

काठमाडौं । नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधानमा संशोधन गरेको छ । कांग्रेसको विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो ।

आसन्न महाधिवेशनबाट अनुमोदन गराउने गरी विधानमा संशोधन गरेको कांग्रेसले जनाएको छ ।

‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ कांग्रेसले भनेको छ ।

विधान अनुसार एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तिमा तीन महिनासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यस्तै १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा थप दुई महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने प्रावधान छ । कोरोनाको जोखिम नघटेको र विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी भएको अवस्थामा थोरै उपस्थित हुन मिल्ने गरी विधानको व्यवस्थामा संशोधन गरिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसले गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने गरी विधान संशोधन गरेको छ । विधानमा कांग्रेसको क्रियाशील सदस्यता लिएको दुई वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो । सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि हुन सक्ने व्यवस्था गरिएको छ ।

‘गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ । कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भन्ने उल्लेख गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने जनाएको छ ।

कांग्रेस महाधिवेशन गराउने निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिका केन्द्रीय सदस्यहरुको सुझाव समेट्ने गरी पारित भएको हो । कांग्रेसले समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई परिमार्जनको जिम्मा दिएको हो । उनीहरुले भदौ १ गते निर्देशिकामा परिमार्जन गरेर भदौ २ गते पार्टी सभापतिलाई बुझाउनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ । छैटौं पटक सार्वजनिक कार्यतालिकाका अनुसार वडा अधिवेशन भदौ १८ गते हुनेछ भने पालिका अधिवेशन भदौ २७ र प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते हुने छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गर्ने कार्यतालिकामा उल्लेख छ । त्यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित : २०७८ साउन ३१ गते १०:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI