अफगानिस्तानबाट नेपाली कामदारको उद्धार शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते ९:०७
अफगानिस्तानबाट नेपाली कामदारको उद्धार शुरु

काठमाडौं, ३२ साउन । तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् ।

उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो ।

उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याउन थालिएको छ । अमेरिकी दूतावासको सुरक्षामा खटिएका ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई जतिखेर पनि उड्नुपर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

आईडी, इकोलोजी इन्ट्रिग्रेटेड, ओलिभ ग्रुप, जिफोरएसजस्ता कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डसँग भने सम्पर्क स्थापित हुन सकेको छैन ।

काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्डलाई आइतबार राति नै बेलायत लैजाने गरी तयारी अवस्थामा राखिएको थियो ।

जापानको दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्ड र युरोपियन युनियन डेलिगेसनमा खटिएका ७४ जनालाई दुबई लगेर राखिएको छ ।

क्यानडेली दूतावासमा कार्यरत १ सय ११ जना नेपालीलाई स्वदेश पठाउनका लागि काबुलस्थित एक होटलमा लगेर राखिएको छ ।

क्यानडेली दूतावासमा हार्ट इन्टरनेसनलले नेपाली सुरक्षा गार्ड सप्लाई गरेको हो । अमेरिकी दूतावास परिसरमा खटिएका गैरसैनिक नेपालीमध्ये १० जनालाई अन्य विदेशीसहित आइतबार दोहा पठाइएको छ ।

प्रकाशित : २०७८ साउन ३२ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI