सुजिता मृत्यु प्रकरण : दाइविरुद्ध दुरुत्साहन मुद्दा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १०:३६
सुजिता मृत्यु प्रकरण : दाइविरुद्ध दुरुत्साहन मुद्दा

चितवन — सुजिता भण्डारी मृत्यु प्रकरणको छानबिनका क्रममा पक्राउ परेका मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव भण्डारीविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको छ । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालय प्रमुख महेश खत्रीले सुकदेवविरुद्ध अधिकतम कैद सजायको माग गरेर मुद्दा दायर भएको बताए । ‘आत्महत्या दुरुत्साहनमा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ । त्यही मागदाबीसहित मुद्दा दायर भएको छ,’ खत्रीले भने । छानबिनपछि प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो ।
सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि अभियुक्तको अदालतमा बयान र थुनछेक आदेशका लागि बहस सुरु हुनेछ । बहसपछि नै न्यायाधीशले मुद्दाको फैसला नहुँदासम्म अभियुक्तलाई थुनामा राख्न कारागार पठाउने वा धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश दिनेछन् । सोमबारबाट यो प्रक्रिया सुरु हुने र एक दुई दिनभित्रै अदालतले आदेश दिनेछ ।

राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा भेटिएको थियो । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुलेन । त्यसैले भिसेरा परीक्षणका लागि नमुना बुझाइएको छ ।

भिसेरा परीक्षणको रिपोर्ट अझै नआएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताए । सुजिताकी दिदीले ‘अपहरण’ मा परेको भन्ने मौखिक जानकारी दिएका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजुबैनीको मात्र नभई शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि अनुसन्धानले अर्कै मोड लिएको थियो ।

सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजुभाइ हुन् । सुजिता दिदीकोमा जान्छु भनेर काठमाडौं गएको, सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको चितवन प्रहरीले साउन ८ मा भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत बनाएको अनुसन्धानमा खटेका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिएका थिए ।

यो समाचार रमेशकमार पौडेले ईकान्तिपरमा लेखेका छन ।

प्रकाशित : २०७८ साउन ३२ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI