१६ दिनमा २५ लाख भन्दा बढी डोज लगाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १८:४८
१६ दिनमा २५ लाख भन्दा बढी डोज लगाइयो

काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप अभियानमा सरकारले गति बढाएको छ । करिब एक महिनाको समयावधिमा झण्डै ४० लाख भन्दा बढी डोज खोप आम नागरिकलाई लगाउन सरकार सफल भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार जुलाई अघि अर्थात् असार १७ अघि ३७ लाख १४ हजार ९३७ डोज खोप लगाइएको थियो । देशभर जुन ३० सम्ममा ३३ लाख ५६ हजार ३ सय ३५ डोज खोप मात्रै लगाइएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

जुलाई महिनाको अन्त्य अर्थात् जुलाई ३१ सम्ममा ५६ लाख ८२ हजार ६ सय २७ डोज खोप लगाइएको छ। यस्तै अगस्त १६ अर्थात् आज सम्म ८२ लाख ७ हजार १ डोज खोप लगाइसकिएको छ ।

१६ दिनमा लगाइयो २५ लाख भन्दा बढी खोप

अगस्टको पछिल्लो १६ दिनमा मात्रै २५ लाख २४हजार ३ सय ७४ डोज खोप लगाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

जुलाई महिनाको अन्त्य अर्थात् जुलाई ३१ सम्ममा ५६ लाख ८२ हजार ६ सय २७ जनाले खोप लगाएका थिए । हिजोसम्म लागेको कुल खोप सङ्ख्या ८० लाख ४८ हजार ६ सय ६६ डोज पुगेको छ । जुलाई अन्त्यसम्मको तथ्याङ्क घटाएर हेर्ने हो भने १६ दिनमा २५ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

No description available.

खोप आपूर्ती र खरिदले पनि गति लिएको अवस्थामा खास गरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खोपलाई मुख्य प्राथमिकतामा राखेसँगै खोप अभियानले पनि गति लिएको छ ।

प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकै दिन प्रधानमन्त्री देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता नै खोप रहेको बताएका थिए ।देउवा नेतृत्वको सरकारको इच्छाशक्तिकै कारण खोप अभियानले गति लिएको तथ्याङ्कले नै देखाएको छ ।

भारतलाई समेत उछिन्यो

कुल जनसङ्ख्याका आधारमा खोप लगाउने जनसङ्ख्याको प्रतिशतलाई हेर्ने हो भने, नेपालले भारतलाई समेत उछिनेको छ । दक्षिण एसियामा सबैभन्दा पहिला खोप लगाउन सुरु गरेको भारत र भारतले नै दिएको खोपबाट पहिलो खोप अभियान सुरु गरेको नेपालले अहिलेको अनुपातलाई हेर्ने हो भने नेपाललाई भारतले पछ्याएको हो ।

आवरवल्र्डइनडेटा (https://ourworldindata.org) को १४ अगस्तसम्मको तथ्याङ्क हेर्ने हो भने, नेपालमा ११.३४ प्रतिशत मानिसले दोहोरो डोज खोप लगाइसकेका छन् । भारतमा भने खोप लगाउने मानिसको अनुपात १४ अगस्तमा ८.७९ प्रतिशत रहेको छ ।

भारतको तुलनामा नेपालले झन्डै तीन प्रतिशत बढी जनसङ्ख्यालाई खोप लगाएको देखिन्छ ।

No description available.

चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य

हालसम्म नेपालमा ८२ लाख भन्दा बढी डोज खोप लगाएका छन् । ३४ लाख भन्दा बढी मानिसले पूर्ण खोप लगाइसकेका छन् ।प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले चैतसम्म खोप लगाउन योग्य सबै जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

सोही अनुसार खोप आपूर्ति एवं खरिदको तयारीमा समेत सरकार लागिपरेको छ । हालसम्म १ करोडभन्दा बढी डोज खोप नेपाल भित्रिसकेको छ ।

खोप अभियानलाई व्यवस्थित र गति दिन काठमाडौं उपत्यका र जनघनत्व बढी भएका जिल्लालाई खोपको पहिलो प्राथमिकतामा राख्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । प्रतिनिधिसभामा बोल्दै राज्यमन्त्री श्रेष्ठले जनघनत्व तथा सङ्क्रमण बढी भएका जिल्लामा खोपको विशेष व्यवस्था हुने बताएका थिए ।

चीनबाट अनुदानमा आउने १६ लाख, खरिद गरेर आउने ६० लाख डोज भेरोसेल खोप र भारतबाट आउन बाँकी १० लाख डोज कोभिसिल्ड गरी असोज मसान्तसम्म २ करोड डोज भन्दा बढी खोप भित्रिसक्ने स्वास्थ्य राज्य मन्त्री श्रेष्ठले बताएका छन् ।

यसैबिच सरकारले कोभिड १९ विरुद्धको खोप खरिदकै लागि अर्थ मन्त्रालयले एसियाली विकास बैङ्क (एडिबी)सँग १९ अर्ब ५८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गतबाट झन्डै डेढ करोड खोप खरिद गर्ने सरकारको लक्ष्य रहेको छ ।

यस्तै बालबालिकाका लागि सरकारले मोर्डना र फाइजरको खोप गरेर ९० लाख डोज भन्दा बढी खोप फागुनसम्म भित्र्याउने लक्ष्य राखेको छ । यसरी चैतसम्म झन्डै ५ करोड ५० लाख डोज खोप भित्रिइसक्ने र खोप लगाउन योग्य जनसङ्ख्याले खोप पाइसक्ने सरकारको अनुमान छ ।

यसरी चौतर्फीरुपमा सरकारले खोप अभियानलाई चुस्त बनाउँदै गइरहेका बेला सर्वसाधारणमा समेत सरकारमाथि विश्वासका साथ खोपको अपेक्षा राखेका छन् । सामाजिक सञ्जालमा खोप लगाएका कतिपय ज्येष्ठ नागरिकहरूले सरकार प्रमुख देउवा र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई आशीर्वाद दिएका भिडियो समेत देखिन थालेका छन्।

प्रकाशित : २०७८ साउन ३२ गते १८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI