पहिरोले थुनिएको गिरुवारी खोलाको मुहान बिस्तारै बग्न थाल्यो, पानी परिरहेकाले जोखिम भने कायमै

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १२ गते २०:०७
पहिरोले थुनिएको गिरुवारी खोलाको मुहान बिस्तारै बग्न थाल्यो, पानी परिरहेकाले जोखिम भने कायमै

कावासोती । अविरल वर्षा पछि आएको पहिरोले थुनिएर ताल बनेको गिरुवारी खोलाको मुहान राते खोला क्रमश बग्न थालेको छ ।

शुक्रबार बिहान राते खोलामा पहिरो खसे पछि खोला थुनिदा ताल बनेको थियो । खोला थुनिदा बनेको ताल ओभर फ्लो भएर बिस्तारै बग्न लागेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताए ।

रातो माटो सहितको लेदो बिस्तारै ओभरफ्लो भएर बग्न सुरु गरेको हुँदा तत्काल खोला थुनिएर बनेको ताल फुटने सम्भावना कम रहेको अर्यालले बताए । “खोला बग्न लागेकाले जोखिम अहिलेलाई कम छ तर पानी पर्ने क्रम नरोकिए थप पहिरो जाने सम्भावना रहन्छ, रातको समय भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छौं,” अर्यालले भने ।

गिरुबारी खोलाको मुहान राते खोला थुनिए पछि तल्लो क्षेत्रमा सतर्कता अपनाउन र खोला आसपास नजान स्थानीय प्रशासनले सन्चार माध्यमबाट सूचना प्रसारण गरेर आग्रह गरेको थियो । खोला थुनिएको सूचना पाए लगतै गण्डकी प्रदेश सभा सदस्य एवं काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डे सहितको सुरक्षा कर्मीको टोलि ड्रोनक्यामेरा सहित खोला थुनिएको स्थानमा पुगेको थियो ।

 

प्रकाशित : २०७८ भदौ १२ गते २०:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI