काँग्रेस वडा अधिवेशन फेरी सर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३ गते १४:०२
काँग्रेस वडा अधिवेशन फेरी सर्दै

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनको कार्यतालिका फेरी परिवर्तन हुने भएको छ । काँग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लो पटक परिमार्जन गरिएको तालिका अनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि वडा अधिवेशन तोकिएको थियो । तर सो मितिमा काठमाडौँ सहितका ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने पक्का भएको छ । बाँकी १३ जिल्लामा भने अझै केही दिन पछि मात्रै वडा अधिवेशन हुने भएको हो ।

‘हाल तोकिएको मितिलाई केन्द्रले सार्ने छैन, अधिवेशन प्रक्रियामा गइसकेको छ, एक दुई दिन ढिला भए पनि मिति केन्द्रबाट तोकिँदैन, ७ जिल्लामा भने वडा अधिवेशन ५ गते नै हुन्छ,’ नेपाली काँग्रेसका एक पदाधिकारीले भने । काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गाउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सो कार्यदलले भने आज बिहानै विवादको समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्री द्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमामा लैजान मात्रै बाँकी रहेको बताए । ‘कार्यदलले गर्ने काम सकेर हामीले सभापति र महामन्त्री द्वयलाई कागजात बुझायौँ अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी छ,’ कार्यदलका सदस्य रहेका नेता रिजालले हाम्रा कुरासँग भने ।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत नामावली सार्वजनिक गर्ने छ । काँग्रेसले अझै पनि १३ जिल्ला अन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न गरेको छैन ।

गत बुधवार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । काँग्रेसले ९ असोजमा गाउँ/नगर अधिवेशन तोकेको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन् ।

प्रकाशित : २०७८ असोज ३ गते १४:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI