संखुवासभामा ६ जनाको हत्या प्रकरणमा नयाँ रहस्य बाहिर आयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ४ गते ११:१७
संखुवासभामा ६ जनाको हत्या प्रकरणमा नयाँ रहस्य बाहिर आयो

काठमाडौं, ४ असोज । संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य बाहिर आएको छ ।

यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाई, बुबा र दुई जना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

लोकबहादुरका बुबा र दुई जना काकालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भदौ ३१ गते लोकबहादुरका भाई नरेश मृतकमध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइलसहित पक्राउ परेका छन् ।

मादी नगरपालिका–१ स्थित उम्लिङमा भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिरपटले हानेर हत्या भएको थियो ।

हत्या गरिएकी रञ्जना कार्कीको मोवाइल नरेशको साथमा भेटिएको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बताएका थिए ।

उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्ने जति सबैको चिरपटले हानेर हत्या गरेको र सो चिरपट जलाएको प्रहरीसँग बताएका थिए ।

प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्नता रहेको खुलेको छ ।

उनीहरूले लखेटी–लखेटी ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीले हत्याकाण्डबारे अझै अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित : २०७८ असोज ४ गते ११:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI