साफ च्याम्पियनशिप : नेपाल आज माल्दिभस सँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १५ गते ८:३९
साफ च्याम्पियनशिप : नेपाल आज माल्दिभस सँग खेल्दै

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलको १३ औं संस्करण शुक्रबारबाट माल्दिभ्समा शुरु हुँदैछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमै नेपालले आयोजक माल्दिभ्ससँग खेल्दैछ ।

भारत, बंगलादेश र श्रीलंकाको समेत सहभागिता रहेको प्रतियोगितामा पाँचै टोलीले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल खेल्नेछन् ।

पहिलो दिन नै दुई खेल हुँदैछन् । शुरुआतमा श्रीलंका र बंगलादेश खेलेपछि राति ९ः४५ बजे नेपाल र डिफेन्डिङ च्याम्पियन माल्दिभ्स खेल्नेछन् ।

नेपालको साफ च्याम्पियनशिप यात्रा त्यति राम्रो छैन । नेपाल अहिलेसम्म फाइनलमा पुगेको छैन । यसपटक नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।

अलमुताइरीको नेपाल बसाईको वास्तविक अग्नि परीक्षा यसै साफमा हुनेछ । युवा र अनुभवी खेलाडीको मिश्रण रहेको नेपाली टिमले यसपटक कम्तीमा फाइनल खेल्ने योजना बनाएको छ ।

मालेमा बिहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताएका छन् ।

प्रकाशित : २०७८ असोज १५ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI