चार पटकको लिगकप विजेता सिटी बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ११ गते ८:००
चार पटकको लिगकप विजेता सिटी बाहिरियो

एपी । इङ्लिस लिग कपमा प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीको दबदबा गएराति समाप्त भएको छ । चार पटकको उपाधि विजेता सिटी अन्तिम १६ मा वेष्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले हारेको हो ।

लन्डन रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा सिटीबाट पहिलो प्रहार गरेका फिल फोडानको हानेको बल बाहिरिएको थियो । त्यसअघि घरेलु टोली वेष्ट ह्यामका मार्क नोबलेले गोल गरिसकेका थिए । वेष्टका लागि नोबलेबाहेक जारोड बोवेन, क्राइग डसन, एरोन क्रसवेल र सेड बेनराहमले गोल गरे । सिटीका जाओ कान्सेलो, गाब्रियल जिसस र ज्याक ग्रालिसले गोल गरेका थिए ।

पाँच वर्षअघि सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग अन्तिम १६ मा पराजित भएपछि सिटी लिग कपमा हारेको यो पहिलो पटक हो । २०१७÷१८ पछि पेप ग्वार्डिओलाको सिटीले प्रत्येक सिजन लिग कपको उपाधि उचालेको थियो । पछिल्लो आठ संस्करणमा सिटीले ६ पटक उपाधि जितेको छ ।

‘‘कुनै पनि कुरा अनन्तसम्म हुँदैन,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘यो प्रतियोगिता जित्नका लागि हामीले अन्तिमसम्म लड्यौं । तर आज त्यो यात्रा समाप्त भयो । अर्को सिजन हामी पुनः जित्नका लागि आउनेछौं ।’’

वेष्ट ह्यामले यसअघि ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

‘‘हामीले प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको सिटीको दोस्रो रोजाईको टिमलाई हरायौं,’’ वेष्ट ह्यामका कप्तान नोबलेले भने, ‘‘हामी प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएका छौं । क्लबका लागि यो विशेष क्षण हो ।’’

सिटीले गोलकिपर इडर्सन, रुबेन डियाज, बर्नान्डो सिल्भालाई आराम दिएको थियो । तथापि केभिन डी ब्रुयना, इल्के गुन्डोगन र रहिम स्टर्लिङलाई पहिलो रोजाइमा खेलाएको थियो । फोडान, ग्रालिस भने बेन्चमा थिए ।

प्रकाशित : २०७८ कार्तिक ११ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI