भारत सेमिफाइनल पुग्ने सम्भावना लगभग सकियो, अब चमत्कारको मात्रै आशा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १५ गते ११:०९
भारत सेमिफाइनल पुग्ने सम्भावना लगभग सकियो, अब चमत्कारको मात्रै आशा

काठमाडौं। टि–२० विश्वकप सुरु हुनुभन्दा अघि उपाधिको दावेदार भनेर प्रचार गरिएको भारत विश्वकपको सेमिफाइनलमै नपुग्ने सम्भावना बलियो भएको छ । भारतले अहिलेसम्म देखाएको खेलका आधारमा अब भारत सेमिफाइनल पुग्ला भन्ने आशा गर्ने अवस्था छैन ।

तर, यदि चमत्कार नै भयो र भारतले अचम्मलाग्दो खेल देखाउनुका साथै प्रतिस्पर्धामा रहेका अन्य टिमहरुको खेल समेत भारतले चाहेजस्तो भइदियो भने मात्र भारत सेमिफाइनल पुग्न सक्छ । र, अबका खेलमा सबै कुरा भारतले भनेजस्तो नै होला भन्ने कुनै ग्यारेन्टी छैन । अब भारत आफ्नो प्रदर्शनले मात्रै सेमिफाइनल पुग्न सक्दैन । अरु टिमले पनि उसले चाहेजस्तै प्रदर्शन गरिदिनुपर्छ अनिमात्र भारतले चाहेजस्तो चमत्कार हुन सम्भव छ ।

भारत समूह २ मा छ । यो समूहमा पाकिस्तानले ३ खेल जितेर ६ अंक बनाइसकेको छ । तुलनात्मक रुपमा बलिया मानिने टेस्ट मान्यता प्राप्त तीन टिमलाई हराइसकेको पाकिस्तानले अब एसोसिएट टिमहरु स्कटल्याण्ड र नामिबियासँग मात्र खेल्न बाँकी छ । सबै टेस्ट राष्ट्रलाई हराइसकेको पाकिस्तानले अब एसोसिएट टिमसँग हार्ला भन्ने सम्भावना अत्यन्तै न्यून छ र पाकिस्तान सेमिफाइनल पुग्ने लगभग तय छ ।

दोस्रो स्थानमा अफगानिस्तान छ जसले २ खेल जितेर ४ अंक जोडिसकेको छ । उसले अब न्यूजिल्याण्ड र भारतसँग खेल्न बाँकी छ । दुवै टिम बरियतामा अफगानिस्तानभन्दा अगाडि रहेकोले उसले दुवैसँग हार्ने अनुमान गरिएको छ तर अफगानिस्तानले यो विश्वकपमा जुन हिसाबको प्रदर्शन गरिरहेको छ त्यसको आधारमा भने केही भन्न सकिने अवस्था छैन ।

तेस्रो स्थानको न्यूजिल्याण्डले २ बलिया प्रतिस्पर्धी पाकिस्तान र भारतसँग खेलेकोमा उसले पाकिस्तानसँग हारेको छ र भारतलाई जितेको छ । अब उसले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासँग खेल्न बाँकी छ । यी तीनवटै टिमलाई तुलनात्मक रुपमा न्यूजिल्याण्डभन्दा कमजोर मानिएको छ । यदि न्यूजिल्याण्डले यी तीनवटै टिमलाई जित्यो भने न्यूजिल्याण्ड सेमिफाइनल पुग्नेछ ।

भारतले अहिलेसम्म एक अंक पनि जोडेको छैन । उसले अब सबै खेल जितेको अवस्थामा बढीमा ६ अंक जोड्न सक्छ । भारत सेमिफाइनल पुग्नका लागि अब अरु कुनै पनि टिमले ६ अंकभन्दा बढी अंक जोड्नु हुँदैन । यसका लागि न्यूजिल्याण्डले कुनै पनि हालतमा अफगानिस्तानसँग हार्नुपर्ने हुन्छ । यस्तो भएमा न्यूजिल्याण्ड, भारत र अफगानिस्तानको समान ६ अंक हुन्छ र नेट रनरेट बढी हुने टिम सेमिफाइनल पुग्छ ।

यो अवस्था आइहाल्यो र सेमिफाइनल पुग्न रनरेटकै गणना गरिने भयो भने पनि भारतलाई सहज छैन । भारतले अबका तीन खेल यति ठूलो अन्तरले जित्नुपर्छ कि उसको नेट रनरेट न्यूजिल्याण्ड र अफगानिस्तानको भन्दा बढी होस् । भारतले अबका तीन खेल ठूलो अन्तरले जितेको अवस्थामा र अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको अवस्थामा भारतले रन रेटमा न्यूजिल्याण्डलाई त उछिन्न सक्ला तर अफगानिस्तानलाई उछिन्न निकै कठिन छ ।

अफगानिस्तानको नेट रनरेट समूहका ६ टिममध्ये सबैभन्दा बढी ३.०९७ छ । भारतको नेट रनरेट समूहमै दोस्रो सबैभन्दा कम माइनस १.६०९ छ । न्यूजिल्याण्डको नेट रनरेट प्लस ०.७६५ छ ।

प्रकाशित : २०७८ कार्तिक १५ गते ११:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI