सङ्घदेखि प्रदेशसम्म सरकारमा नेतृत्वविहीन एमाले

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १५ गते १५:४७
सङ्घदेखि प्रदेशसम्म सरकारमा नेतृत्वविहीन एमाले

मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेसँगै चार जना मुख्यमन्त्री रहेको नेकपा एमाले अब कुनै पनि प्रदेश नेतृत्वमा नरहने भएको छ। विश्वासको मत प्राप्त नहुने भएसँगै उनले प्रदेशसभा बैठकमा राजीनामा दिने बताएका हुन्। प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए।

आजको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमा निर्णय गर्ने कार्यसूची तयार पारिएको थियो। तर आचार्यले त्यो प्रक्रिया सुरु हुन अगावै प्रदेशसभा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्। आचार्यले तत्काल प्रदेश प्रमुख समक्ष आफूले राजीनामा बुझाउने बताएका छन् । त्यस लगत्तै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री आचार्यले संसद्मा राजीनामा घोषणा गरेकाले मत विभाजन गर्नु आवश्यक नरहेको जानकारी प्रदेश सँभालाइ गराएका थिए।

गत कार्तिक २५ गते मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत रहेको अवस्थामा गत भदौ १० गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आचार्य मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेका थिए।९३ सदस्यीय प्रदेशसभामा सभामुख सहित एमालेका ४१ सांसद छन् । ती मध्ये एक जना सांसदलाई फौजदारी मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी फरार छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक छ। प्रदेश १ का मुख्यमन्त्री आचार्यको बहिर्गमनसँगै एमालेले चार वटै प्रदेशमा आफ्नो सरकार गुमाएको हो । एमालेले यसअघि बागमती , लुम्बिनी र गण्डकी प्रदेश सरकार गुमाइसकेको छ ।

यस्तो छ विपक्षी समीकरण

नेपाली काँग्रेस लगायतका पाँच दलिए विपक्षी गठबन्धनले ५० सांसदसहित बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका २१ , माओवादी केन्द्रका १५ , एकीकृत समाजवादीका १० , जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद रहेको देखिएका छन् । प्रदेशसभामा एक जना सांसद रहेको राप्रपा भने कुनै पक्षमा देखिएको छैन।मुख्यमन्त्रीमा राजेन्द्र राई प्रस्तावित एमाले नेतृत्वको प्रदेश सरकार ढलेसँगै विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् । भोजपुरबाट निर्वाचित राईको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।-BBC News नेपाली

प्रकाशित : २०७८ कार्तिक १५ गते १५:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI