विकट क्षेत्र बौदीकाली ५ बबकमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १६ गते १७:१५
विकट क्षेत्र बौदीकाली ५ बबकमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा

१६ कात्तिक , नवलपुर ।
पुर्बी नवलपरासीको विकट क्षेत्र बौदीकाली गाउँपालिका ५ बबकमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । कावासोती नगरपालिका ४ हसौरा स्थित कुमारी निजि शैक्षिक गुठीको ४८ लाख ५६ हजार अनुदानमा गाउँमै बर्थिङ सेन्टर निर्माण भइरहेको हो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बबकका महिलाहरुलाई लक्षित गर्दै गुठीले गाउँमै बर्थिङ सेन्टर निर्माण गरेको हो ।
कुमारी निजि शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दिपलाल श्रेष्ठ भन्नुहुन्छ, “बबकमा स्वास्थ्य स्थित पनि साह्रै नाजुक रहेछ । कुनै एउटा सानो उपचारका लागि पनि तराइ सदरमुकाम कावासोती झर्नु पर्ने बाध्यता एवम् घण्टौँ हिडेर जानु पर्ने रहेछ । यसका साथै गर्भवती महिलाहरुका लागि सुरक्षित ढङ्गबाट सुत्केरी गराउनका लागि त्यहाँ समस्या भएको र कतिपय बच्चा जन्माउन नसकेर दुखत घटना घटेको खबर सुन्न आयो । यसकाराण्ले गर्दापनि कुमारी निजि शैक्षिक गुठीले त्यहाँ सुविधा सम्पन्न बर्थिङ सेन्टरको निर्माण गर्ने र सर्वसुलभ ढङ्गबाट उपचार सेवा उपलब्ध गराउने उदेश्यका साथ यो भवन निर्माण कार्य तिब्रगतिमा चलिरहेको छ । गुठीबाट उक्त भवन निर्माणका लागि ४८ लाख ५६ हजार लागतमा बन्न लागेको छ ।”
जिल्लाको पहाडी इलाका बबक वरिपरि कुनैपनि बर्थिङ सेन्टर नहुँदा ६ घण्टा हिँडेर सदरमुकाम कावासोती आउनु पर्ने बाध्यता छ । त्यहाँका महिलाहरु बर्थिङ सेन्टरको अभावमा घरमै सुत्केरी हुने गर्दथे । अब भने आफ्नै गाउँघरमा बर्थिङ सेन्टर निर्माण हुँदै गर्दा सुरक्षित तरिकाले सुत्केरी हुन पाउने भएपछि उनीहरु खुशी देखिएका छन् ।
स्थानिय हरिसरा राना मगरले भन्नुभयो , “बबकमा महिलाहरुका लागि बेस्सरी दुख र समस्या थियो । हामीले घरमा नै जोखिम मोलेर बालबच्चा जन्मायौँ । आजभोली अलि चेतना भएर तल अस्पताल झर्छ । तर, यहाँ एउटा स्वास्थ्य चौकी पनि नहुँदा धेरै समस्या थियो । कुमारी निजि शैक्षिक गुठीले अहिले महिलाहरुका लागि लक्षित गर्दै बर्थिङ सेन्टरको निर्माण गर्देको छ । अब त्यो समस्या ठिक हुन्छ ।”
यस्तै अर्का स्थानिय छम माया अस्लामी मगर भन्नुहुन्छ, “पहिला पहिला त धेरै समस्या थियो । सुत्केरी हुँदा ज्यान जाने सम्भावना धेरै थियो । गुठीले गाउँमै बर्थिङ सेन्टर निर्माण गरेको एकदम राम्रो लागेको छ । अब त तल झर्नु पर्दैन भन्ने पूर्ण विश्वास छ ।”
बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका बबकका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने परेको स्थानियहरुले बताएका छन् । अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि महिलाले यो समस्याबाट निदान पाउँने उनीहरुको भनाइ छ ।
स्थानिय बल वहादुर अस्लामी मगरले भन्नुभयो, “हामीले हिजोको दिनका अवस्था भोगि रहदाँ धेरै महिलादिदी वहिनीहरु सुत्केरी हुँन नसक्ने अवस्थामा हामीले गाउँमै बर्थिङ सेन्टर नहुनु र बाटोका सस्याका कारणले पनि धेरै मस्या भोगि सकेका छौँ । कतिपय दिदीवहिनीहरुको सुत्केरी हुन नसेर डोलीमा लिएर जादा बिच बाटोमा अकालमै मृत्यु पनि भइसकेको छ । अबका दिनहरुमा हामीले त्यस्ता दुखत घटना भोग्नु पर्ने छैन ।”
बर्थिङ सेन्टरको भवन निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । अबको तिन महिनामा सबै कार्य सकेर भवन हस्तान्तरण गर्ने गुठीले जनाएको छ । बबकमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि बबक र त्यस वरिपरिका महिलाहरुले सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २०७८ कार्तिक १६ गते १७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI