कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकी प्रदेश सरकारको मासिक पाँच हजार

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १० गते ९:५७
कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकी प्रदेश सरकारको मासिक पाँच हजार

नवलपर । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुगेलाई बिहीबार रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गरेका थिए ।

सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले यो रकम रकम प्राप्त गर्नेछन् ।

पहिलो चरणमा कोभिडबाट मृत्यु भएका ३९ जनाका ६० बालबालिकालाई राहत वितरण गरिएको संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताए ।

उनका अनुसार मन्त्रालयमा ११७ जनाको नाम प्राप्त भएकामा आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी १६२ मध्ये १०२ वटा निवेदनको मापदण्डबमोजिम कागजात पूरा हुन बाँकी छ ।

बाँकी कागजात माग गरिसकिएको र त्यसपछि उनीहरुलाई पनि राहत रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ । पहिलो किस्ताअन्तर्गत कात्तिक मसान्तसम्मका लागि रु ११ लाख पाँच हजार निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

राहत रकमका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसीआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडा कार्यालयको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरणसहितका कागजपत्र मन्त्रालयले माग गरेको थियो ।

प्रकाशित : २०७८ मंसिर १० गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI