कांग्रेस प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी, घिमिरे दुई मतले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते ९:०६
कांग्रेस प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी, घिमिरे दुई मतले पराजित

मोरङ । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ कार्यसमिति पदाधिकारीमा संस्थापन समूह वर्चश्वसहित विजयी भएको छ । संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पारेका हुन् ।

आज बिहान ३ः३० बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छ्न् । सभापतिमा शुरुआतदेखि नै घिमिरेले अग्रता लिएकामा अन्तिम समयमा थापा दुई मतले जित हासिल गर्न सफल भएका हुन् ।

संस्थापन पक्षसँग मिलेको कृष्णप्रसाद सिटौला समूहले बाजी मार्न सफल भएको हो । झापाका थापा सिटौला निकटका हुन् । थापाले २ मत बढी प्राप्त गरेपछि मतगणनामा त्रुटि भएको भन्दै  केही बेर विवाद उत्पन्न भएको थियो ।

उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९० तथा राईले ८४७ मत ल्याए । पराजित भएका गोविन्दप्रसाद ढुङ्गानाले ७६५ तथा विश्वनाथ रिजालले ६६९ मत ल्याए ।

महामन्त्रीमा भुपेन्द्र राई र पदमसुन्दर पालुङ्गवा विजयी भएका छन् । उमेश थापा र दिपनकुमार श्रेष्ठ पराजित भएका छन् । राईले ८२४, पालुङ्गवाले ८०७, थापाले ८०३ तथा श्रेष्ठले ७६४ मत ल्याए ।

यस्तै सहमहामन्त्री महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदार ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन्  ।

यस्तै सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् भने अर्का विजयी विनोदकुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन् । पराजित भएका रोहितकुमार शाहले ६६५, वीरकाजी राईले ६४७ तथा शुभचन्द्र राईले ८४ मत ल्याए ।

 

प्रकाशित : २०७८ मंसिर २० गते ९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI