भारतमा प्रत्येक २५ मिनेटमा महिलाले किन गर्छन आत्महत्या ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २ गते १२:०७
भारतमा प्रत्येक २५ मिनेटमा महिलाले किन गर्छन आत्महत्या ?

बिबिसी-भर्खरै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२ गृहिणीहरूले आत्महत्या गरेका थिए।

त्यसले दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ।

सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १,५३,०५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशतमा गृहिणीहरूले अकाल मृत्युवरण गरेका छन्।

यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो।

भारतमा किन हजारौँ गृहणीले वर्षेनि आत्महत्या गर्छन् त?

निरन्तरको क्रम

गत वर्ष त्यसअघिका वर्षभन्दा कुनै भिन्न विवरण आएको होइन।

सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थाल्यो।

त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो।

पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई ‘पारिवारिक समस्या’ वा ‘विवाहसम्बन्धी विषय’सँग जोड्ने गरिन्छ।

हजारौँ महिलाहरूलाई आत्महत्या गर्न बाध्य पार्ने कारण के-के हुन् त?

 

एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञहरू बताउँछन्।

समाचारहरूले ती आत्महत्याहरूलाई ‘पारिवारिक समस्याहरू’ वा ‘विवाहसम्बन्धी बिषय’सँग जोड्ने गर्छन्।

हजारौँ महिलाहरूलाई त्यसो गर्न बाध्य पार्ने कारण के हो?

मानसिक स्वास्थ्य विज्ञहरूले एउटा मुख्य कारण उच्च घरेलु हिंसा बताउँछन्।

घरेलु हिंसाको मार

तीस प्रतिशत महिलाहरूले हालैको एक सरकारी सर्वेक्षणमा पतिबाट हिंसा खेपको बताएका थिए।

उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका थिए।

वाराणसीमा रहेकी क्लिनिकल मनोविद् डा. उषा वर्मा श्रीवास्तव भन्छिन्, “महिलाहरू साँच्चिकै धेरै सहन सक्छन्, तर सहनुको पनि एउटा सीमा हुन्छ।”

“धेरैजसो महिलाहरू कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन्। उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन्। उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ।”

“उनको पढ्ने सपनाको त्यसपछि कुनै अर्थ रहँदैन र महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै निराशामा बदलिन्छ र आफ्नो अस्तित्व नै यातना बन्छ।”

डा. श्रीवास्तवका विचारमा पाका उमेरका महिलामा आत्महत्याका कारण भिन्न छन्।

धेरैमा सन्तान हुर्किएर घरबाहिर गएसँगै एक्लोपनको समस्या देखिन्छ।

अर्को कारण भनेको रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने प्रक्रिया चलिरहेको बेला हुने निराशा र बिनाकारण वा ससाना कारणले रुने अवस्था हो।

कसरी बचाउन सकिन्छ?

डा. श्रीवास्तव आत्महत्या गर्न लागेका महिलालाई ‘कसैलाई केही क्षण रोक्न सकियो भने’ सजिलै बचाउन सकिने ठान्छिन्।

मनोविद् सौमित्र पथारे भारतमा हुने आत्महत्याहरू आवेगका भरमा हुनुको कारण त्यही रहेको बताउँछन्।

“पुरुष घर आउँछन्, श्रीमतीलाई कुट्छन् र उनी आफ्नै हत्या गर्छिन्।”

उनका अनुसार निष्पक्ष अध्ययनहरूले भारतमा आत्महत्या गर्ने एकतिहाइ महिलाको पृष्ठभूमि घरेलु हिंसासँग रहेको देखाउने गरेका छन्।

तर एनसीआरबीको विवरणमा घरेलु हिंसालाई कारणको रूपमा उल्लेख गरिएको छैन।

भारत विश्वमै उच्च सङ्ख्यामा आत्महत्या हुने देशमा पर्छ।

भारतको बिजोग

विश्वभरि हुने आत्महत्याको एकचौथाइ अंश भारतीय पुरुषहरूको छ।

यद्यपि भारतीय महिलाको आत्महत्या १५ देखि ३९ उमेर समूहमा विश्वको ३६ प्रतिशत छ।

मानसिक स्वास्थ्य र आत्महत्यासम्बन्धी विज्ञहरू भारतको सरकारी तथ्याङ्कले वास्तविक अवस्था नदेखाउने बताउँछन्।

के यो नै वास्तविकता हो?

“यदि तपाईँले मिलिअन डेथ सर्भे (जसले सन् १९९८ देखि २०१४ बीचमा २४ लाख घरमा भएका एक करोड ४० लाख मानिसलाई हेरेको थियो) वा लान्सिट जर्नलमा प्रकाशित अध्ययनहरू हेर्नुभयो भने भारतमा हुने आत्महत्या ३० प्रतिशतदेखि १०० प्रतिशतसम्म अभिलेखमा नआएको देखिन्छ,” डा. पथारे भन्छन्।

डा. पथारेका अनुसार भारतमा आत्महत्या गर्ने प्रयासका अङ्क ‘हास्यास्पद रूपमा कम’ देखिन्छ।

“संसारमा जहाँ पनि आत्महत्याभन्दा आत्महत्या गर्ने प्रयासका घटना सामान्यतः चारदेखि २० गुना बढी हुने गर्छन्। भारतमा गत वर्ष डेढ लाख आत्महत्या भए त्यसका लागि भएका प्रयास छ लाखदेखि ६० लाखबीच हुनुपर्छ।”

प्रकाशित : २०७८ पुष २ गते १२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI