विद्यालय विकासमा प्रधानाध्यापकको नेतृत्व क्षमता

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ४ गते १५:३६
विद्यालय विकासमा प्रधानाध्यापकको नेतृत्व क्षमता

तेजचन्द्र खनाल-

कुशल नेतृत्वले राम्रा कर्मचारी वा शिक्षकहरुबाट बढी उत्पादन लिने मात्र होइन साधारण कर्मचारीहरुबाट पनि क्षमता भन्दा बढीको उत्पादन लिन सक्छन् : Peter Drucker

व्यवस्थापकको आफु मातहतका कर्मचारीहरुलाई अगुवाइ गर्ने कामका लागि उत्प्रेरित गर्ने कार्य वा गुणलाई नेतृत्व भनिन्छ । सबैमा एकै प्रकारको नेतृत्व गुण नभएपनि हरेक व्यवस्थापकहरु सँग कम्तीमा आफू मातहतका र सङ्गठनका कर्मचारीलाई अगुवाई गर्ने, उत्प्रेरित गर्ने र उनीहरुबाट प्रभावकारी रुपमा काम सम्पन्न गराउने गुण हुनै पर्छ । त्यसैले हरेक व्यवस्थापक संस्थाको एक कुशल नेता पनि हो ।

सङ्गठनको दृष्टिमा नेतृत्व एउटा प्रक्रिया हो जसमा सङ्गठनात्मक लक्ष्य, उदेश्य हाँसिल गर्नका लागि अरुलाई प्रभावित गर्दै काममा परिचालन गरिन्छ । असल नेतृत्वका विशेषताहरुमा उसका अनुयायीहरु हुनुपर्छ, साझा उदेश्य हुनुपर्छ, कार्यात्मक सम्बन्ध हुनुपर्छ, उदाहरणीय आचरण हुनुपर्छ र परिस्थिति सँग सहज सामना गर्न सक्ने हुनुपर्छ । त्यसैले नेतृत्वले व्यवस्थापकको रुपमा लक्ष्य प्राप्तिका लागि अगुवाई गर्न सक्नु पर्छ ।

संस्था भित्र र बाहिर विभिन्न पृष्ठभूमी, अनुभव, दक्षता, क्षमता, योग्यता भएका व्यक्तिहरु रहेका हुन्छन् । यिनीहरुलाई सकारात्मक दिशा तर्फ उन्मूख गराई संस्थाको लक्ष्य प्राप्त गर्न अवलम्बन गर्ने सामाजिक प्रकृयालाई नेतृत्व भनिन्छ । नेतृत्वले संस्थाका सदस्यहरुलाई प्रेरित गर्ने, प्रेरणा दिने, निर्देशन दिने कार्यबाट प्रभावित गर्ने गर्दछ । नेतृत्व बारे विभिन्न विद्वानहरुले आ–आफ्नो मत प्रकट गरेका छन् ।

नेतृत्वः

  •  “नेतृत्वले दुरदृष्टी निर्माण गर्दछ र अरुलाई त्यसप्रति आकर्षण र त्यससँग सम्वन्धित क्रियाकलापमा संलग्न हुन प्रेरणा दिन्छ ।”
  •  नेतृत्व त्यो क्षमता हो जसले अरुलाई आवश्यक ज्ञान र सीप उपलब्ध गराई सशक्तिकरण गरी इच्छित कार्य प्राप्त गर्न सक्छ ।
  •  नेता त्यो हो जसको दिशा र दृष्टिकोणलाई अन्य व्यक्तिहरू पछ्याउन स्वीकार्य हुन्छन् ।

 

प्रायः नेतृत्व शब्द सुन्नेबित्तिकै हाम्रो मानसपटलमा ठुल्ठूला सफल मानिसका चित्रहरु खेल्न थाल्छन्  । हुन पनि यो शब्द उत्तिकै वजनदार छ । तर, जो कोही मानिस पनि लिडर बन्न सक्छ । लिडर त्यही मानिस हो जसले कुनै पनि चिजमा नेतृत्व लिन्छ  । काममा कहिले सफलता हात पार्छ त कहिले असफलता । यी दुवैको अन्तरलाई सही व्यवस्थापन गर्नु नै नेतृत्व क्षमता हो ।

कुनै पनि संस्थाको लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने तथा सफल नेतृत्वको विकास गराउने माध्यमनै शिक्षा हो । शैक्षिक नेतृत्वको प्रभावकारी व्यवस्थापन तथा क्षमता अभिबृद्धि गर्दै व्यक्तिमा रहेको अनुसन्धात्मक तथा अन्तरनिहित क्षमताको उजागर गर्न शिक्षाले मदत पुर्याउछ । त्यसैले हरेक शैक्षिक संस्थामा प्रशासनिक व्यवस्थापकको रुपमा र शैक्षिक संस्थाको शैक्षिक विकासका निमित्त नेतृत्वदायि भूमिकामा एकजना प्रधानाध्यापक रहने व्यवस्था छ । शिक्षा नियमावली २०५९ को नियम–९३ ले पनि प्रधानाध्यापकलाई प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रूपमा व्यवस्थापकीय र शैक्षिक जिम्मेवारी वहन गर्न सक्ने व्यक्तिको रूपमा परिकल्पना गरेको पाइन्छ । ुप्रधानाध्यापक भन्नाले विद्यालयको नेतृत्व वहन गरी व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने विद्यालयको प्रमुख कार्यकारी पदु सम्झनु पर्दछ । एउटा प्रधानाध्यापकमा विद्यालयको सामूहिक लक्ष्य हासिल गर्नका लागि विविध पक्षहरुलाई समेट्न सक्ने नेतृत्व क्षमता भएको हुनुपर्दछ । दार्शनिक सुकरातले ‘नेतालाई योग्य शिक्षकद्वारा प्रशिक्षण दिनुपर्दछ’ भनेका थिए । यसले शिक्षकमा र अझ शिक्षकका पनि गुरु, प्रधानाध्यापकमा नेतृत्व सीप हुनुपर्ने मान्यतालाई स्पष्ट पारेको छ ।

सामान्यतया विद्यालयको कुरा गर्दा, त्यहाँको व्यवस्थापन कस्तो छ, समिति कस्तो छ, कस्तो प्रधानाध्यापक छ भनेर समुदायले प्रधानाध्यापकको नेतृत्वकै कुरा उठाइरहेका हुन्छन् । कुनै विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सिकाइ स्तरको कुरा गर्दा कस्ता शिक्षकले शिक्षण गर्छन् र कस्तो प्रअले नेतृत्व गरेको छ भन्ने कुराले प्रधानता पाएको हुन्छ ।

नेपालमा विद्यमान नीतिगत व्यवस्थालाई हेर्दा गुणस्तरीय शिक्षाको प्रबन्ध मिलाउन र विद्यालयको सफल प्रशासनिक व्यवस्थापन गर्नमा प्रधानाध्यापकको नेतृत्वदायी भूमिका अपेक्षा गरिएको छ । यस पृष्ठभूमिमा विद्यालयको सफलता र असफलता विद्यालयको प्रअले खेल्ने भूमिकामा नै निर्भर रहेको देखिन्छ । कतिपय विद्यालयको विकासका लागि विद्यालय व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका खेलेको देखिए पनि त्यहाँ सदस्य सचिव भएको नाताले पहिलो प्राथमिकतामा प्रधानाध्यापक नै मुख्य रहन्छन् ।

 

असल नेतृत्वमा जहिलेपनिः

 

  •  विषयवस्तुको ज्ञान,
  •  व्यवस्थापकीय सीप,
  •  समन्वयकारी भूमिका,
  •  प्रभावपूर्ण वाकशक्ति,
  • कुटनैतिक क्षमता,
  •  बहुआयामिक,
  •  मध्यस्थता तथा वार्ता गर्ने सीप,
  •  छिटो निर्णय गर्न सक्ने,
  •  समूहमा बसेर काम गर्न सक्ने क्षमता,
  •  आधुनिक प्रवृति तथा समयसापेक्ष व्यवहार गर्न सक्षम,
  •  नमूना व्यक्तित्वको रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने,
  •  चूनौतीलाई अवसरमा बदल्न सक्ने क्षमता,
  •  विवाद, विपद र संकट आदि जस्ता विभिन्न परिस्थितिहरुको सामना र व्यवस्थापन गर्न सक्ने,
  •  सोचाइ, बोलाइ र गराईमा पृथकता नदेखाउने,
  •  दुरदृष्टि निर्माण गरी रुपान्तरणमुखी कार्यसम्पादनमा जोड दिन सक्ने जस्ता गुणहरु हुनु अपरिहार्य हुन्छ ।

 

नेतृत्व क्षमता विकास

विद्यालयको समग्र विकासमा प्रधानाध्यापकको पेशागत तथा नेतृत्वदायी भूमिका पहिलो शर्तको रुपमा आउने र सोही भूमिकाले शिक्षकलाई उत्प्रेरणा प्रदान गर्ने¸ अभिभावक सँगको समन्वयकारी सम्बन्ध स्थापित हुने¸ विद्यार्थीको शैक्षिक उपलब्धि बृद्धि हुने, विद्यालयका भौतिक तथा शैक्षिक सुधारका पक्षहरु बलियो हुने हुन्छ । त्यसैले एक कुशल प्रअले आफुलाई जहिले पनि निम्न क्षमताको विकास गर्नु जरुरी हुन्छ ।

  •  दीर्घकालिन बृहत लक्ष्य निर्धारण गर्न सक्ने,
  •  विद्यार्थीको सिकाइबारे उत्सुक हुने,
  •  विद्यार्थी र शिक्षकहरु सँग निरन्तर अन्तरक्रिया गर्ने र सहि परामर्श दिन सक्ने,
  •  बलियो नियम, कानुन ९आचारसंहिता० निर्माण र कार्यान्वयन,
  •  सिकारु र सिकाउने दुबैको मनोभावना बुझेर आत्मबल र उर्जा भर्न सक्ने,
  •  सिकारुलाई आफ्नो मूल्यांकन आँफै गर्न र निरन्तर सुधारका लागि प्रोत्साहित गर्न सक्ने,
  •  नम्र, शिष्ट व्यवहार गर्ने तथा आफ्नो उच्च चरित्रबाट अरुलाई अनुशासित तुल्याउने,
  •  विद्यालयमा अनुशासन कायम गर्न शिक्षक, अभिभावक तथा विद्यार्थी अन्तरक्रिया एवम् उत्कृष्टलाई पुरस्कार र दण्डको समेत व्यवस्था गर्ने,
  •  शिक्षकबाट विद्यार्थी र विद्यार्थीबाट शिक्षकको वस्तुनिष्ठ मूल्याङ्कन पद्धतिको विकास र कार्यान्वयन गर्ने,
  •  समय(समयमा कक्षा अनुगमन गर्ने र यथार्थ गतिविधिसित जानकार भई आवश्यक सहयोग तथा पृष्ठपोषण गर्ने,
  •  गुणस्तरीय शिक्षा प्रतिस्पर्धाका लागि शैक्षणिक प्रविधि र सूचना प्रविधिमा जोड दिने,
  •  जुनसुकै स्रोतबाट उपलब्ध साधन स्रोतको अधिकतम सदुपयोग गर्न सरोकारवालाको सहभागिता र सहमतिमा योजना निर्माण तथा पारदर्शितापूर्वक कार्यान्वयन गर्ने,
  •  विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापकहरुसँग छलफल गरेर मात्र निर्णय गर्ने,
  •  समुदायका विद्यार्थीहरुलाई आधारभूत सेवासुविधा उपलब्ध गराउने र सेवाभावकासाथ अभिभावकत्व बहन गर्ने,
  •  विषयवस्तुमा तथा शिक्षण प्रशिक्षणमा योग्य तालिम प्राप्त शिक्षकको छनोट तथा व्यवस्थापन गर्ने,

 

प्रधानाध्यापकको नेतृत्वदायी भूमिकाः

  •  प्रजातान्त्रिक, पारदर्शी, तटस्थ र लगनशील नेतृत्व,
  •  पेसागत दक्षता, प्रशासकीय तथा व्यवस्थापकीय गुण,
  •  राम्रो योजनाकार, समयसापेक्ष शैक्षिक नीति निर्माण र कार्य योजना तर्जुमा क्षमता,
  •  मिठोबोली, हँसमुख तथा मिलनसार व्यक्तित्व र समन्वयकारी भूमिका,
  •  भौतिक, मानवीय तथा आर्थिक स्रोत पूर्वाधार निर्माण र व्यवस्थापन,
  •  शैक्षिक उत्सुकताको वातावरण तथा बालमैत्री विद्यालय,
  •  समयसापेक्ष सिकाइ प्रयोग क्षमता, तालिम प्राप्त, पेसाप्रति समर्पित योग्य शिक्षक व्यवस्था,
  •  अभिभावक, विद्यार्थी तथा शिक्षक अन्तरक्रिया तथा परामर्श क्षमता,
  •  समयसापेक्ष, प्र।अ। तथा शिक्षकहरुलाई छोटो अवधिको पुनर्ताजगी तालिम, कार्यशाला तथा सेमीनारको अवसर,
  •  मनोविज्ञ तथा कुनै विषयमा दक्ष एवम् अध्ययनशील व्यक्तित्व,
  •  विद्यालयको सेवाक्षेत्रका अभिभावक एवम् समाजको यर्थाथताबोध भएका,

 

अन्त्यमा,

कुनैपनि विद्यालय सफल र असफल हुनुमा त्यहाँको समुदायको भूमिका महत्वपूर्ण हुने गर्दछ । शैक्षिक गुणस्तर र उपलब्धि प्राप्तिमा त्यहाँको समुदाय, त्यहाँका सचेत अभिभावक, स्पष्ट शिक्षा नीति र नेतृत्वको भूमिका अपरिहार्य रहने गर्दछ । पेशागत रुपमा प्र।अ। ले आफूले नेतृत्व गर्ने संस्थामा अध्यापनरत शिक्षक र आफ्नो भविष्य उज्जवल गराउनका लागि पठनपाठनमा संलग्न विद्यार्थीहरु र समुदायका सरोकारवाला हरुसँग सहकार्य गरी उत्कृष्ट नतिजा दिन सक्नु पर्दछ । तबमात्र प्रअको नेतृत्व सफल हुन सक्छ । त्यसैले सामूहिक प्रतिवद्धता, पेसागत इमान्दारिता र पारदर्शिता भएको नेतृत्वबाट मात्र अपेक्षित उपलब्धीहरु हासिल गर्न सकिने भएकाले नेतृत्व कर्ताको रुपमा प्र।अ। नै मूख्य हुन आउँछ । यसर्थ नेतृत्वकर्ताले जहिलेपनि सरोकारवाला हरुबाट समस्याको पहिचान, समाधानको पहल, निरन्तर अन्तरक्रिया र छलफल, प्राप्त सबलपक्षको संरक्षण, पृष्ठपोषण र कमीकमजोरीहरु न्यूनीकरणका लागि विविध विकल्पहरु पहिचान गरी समुदायको विश्वास जित्नु अनिवार्य हुन्छ ।

 

सन्दर्भ सुचीहरु (References)
१.प्र.अ. नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०७३
२. प्रशासनिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, तालिम स्रोत पुस्तिका, निर्वाचन आयोग नेपाल २०७३ ।
३. National Centre for Educational Development (2074), A 30-day In-
service Training Curriculum on Educational Management (for Gaz-III
officers). Sanothimi, Bhaktapur:
४.विद्यालय निरीक्षक दिग्दर्शन, देवीराम आचार्य र सावित्रा पौडेल, सारा प्रकाशन प्रा.ली., काठमाडौ नेपाल ।

 

(लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।)

प्रकाशित : २०७८ पुष ४ गते १५:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI