गैंडाकोटको नारायणी मा.विले मनायो ४३ औं वार्षिकोत्सव

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १० गते १९:१४
गैंडाकोटको नारायणी मा.विले मनायो ४३ औं वार्षिकोत्सव

गैंडाकोट । गैँडाकोटमा रहेको श्री नारायणी माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कँडेल सापकोटा विशेष अतिथि रहनु भएको थियो । कार्यक्रमका विशेष अतिथिसमेत रहनुभएका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईँले विद्यालयको प्रगतिमा सबैको प्रतिवद्धताले काम गर्ने भएकोले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विगत केही समयमा विद्यालयको भौतिक र शैक्षिक प्रगति उत्साहजनक रहेको बताउनुभयो ।

विद्यालयका प्र.अ. मिलन श्रेष्ठले विद्यालयको समग्र आर्थिक एवम् भौतिक पक्षको प्रतिवेदन पेश गर्दै पूर्वप्राथमिक देखि कक्षा १० सम्म ३७७ बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो । उहाँले विद्यालयले सूचना प्रविधिमा जोड दिँदै शिक्षणमा नवीनतम विधिहरुको प्रयोगलाई प्रसय दिनुभएको बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष एवम् जनक नमुना माविका प्रधानाध्यापक चूडामणि शर्मा कँडेलले नारायणी माविको दिन प्रतिदिनको प्रगतिको खुलेर तारिफ गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानाध्यापकद्वय कृष्ण सापकोटा, होमनाथ सापकोटाले मन्तव्य राख्नुभएको थियो । विद्यालयको इको क्लवका अध्यक्ष अनुष्का पौडेल, वडा सदस्य ईश्वरीप्रसाद चापागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा विद्यालयका सहायक प्रअ जगन्नाथ उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वार्षिकोत्सव विशेष अन्तर्गत सञ्चालित खेलकूदमा पुरस्क्रित विद्यार्थीहरुलाई पुरस्कार र विद्यालयमा योगदान पु¥याउनुहुने शिक्षक कर्मचारी र अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा लामो समय अध्यक्ष भएर कार्य गर्नुहुने गंगाबहादुर पाण्डे, पूर्व प्रधानाध्यापक नारायण पौडेल र निवृत्त शिक्षकहरु अग्निप्रसाद सापकोटा, खुमबहादुर थापा, हरिकला सिग्देल, शारदा शर्मालाई सम्मान गरिएको थियो ।

त्यसै गरी विद्यालयले यस वर्ष शिक्षकहरुतर्फ उत्कृष्ट शिक्षक सम्मान शिक्षक गोविन्द रिमाललाई प्रदान गरिएको थियो । वि.स. २०३६ साल पौष १० गते स्थापना भएको सो विद्यालयमा दरै, कुमाल लगायतका आदिवासी जनसमुदायका बालबालिकाहरुको बाहुल्यता रहेको छ । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षकद्वय जगन्नाथ उपाध्याय र गोविन्द रिमालले सहजीकरण गर्नुभएको हो ।

प्रकाशित : २०७८ पुष १० गते १९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI