कोरोना बढेपछि आजदेखि विद्यालय बन्द, उमेरअनुसार खोप लगाउन सरकारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २७ गते १०:४८
कोरोना बढेपछि आजदेखि विद्यालय बन्द, उमेरअनुसार खोप लगाउन सरकारको आग्रह

काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको हो ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार सोमबार मन्त्रालयले निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

ललितपुरमा आजदेखि बालबालिकालाई खोप लगाइँदैछ । विभिन्न विद्यालयहरुले बिदा गरे पनि खोपको कार्यक्रम भने जारी राखेका छन् । उनीहरुले विद्यालयमै खोपको प्रबन्ध गर्न लागेका हुन् ।

प्रकाशित : २०७८ पुष २७ गते १०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI