प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ३ गते १६:०८
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित

जनकपुरधाम । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।  सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो ।  मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए  ।

प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको यादवले बताए ।

जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा  २१ मत खसेको थियो ।

प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले राजधानी जनकपुरधाम प्रस्ताव गरेका थिए ।

राजधानी जनकपुरधामको  क्षेत्र उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा तोक्न प्रस्ताव गरिएको थियो ।

प्रकाशित : २०७८ माघ ३ गते १६:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI