नवलपुरमा विकास निर्माणमा खर्च सुस्त : फेरि पनि असारे विकासको पिरलो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १२ गते १४:५१
नवलपुरमा विकास निर्माणमा खर्च सुस्त : फेरि पनि असारे विकासको पिरलो

नवलपुर । नवलपुरमा आर्थिक वर्षको ६ महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । आर्थिक वर्षको ६ महिना समय सकिदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको करीब १० प्रतिशत मात्रै खर्च भएको कोष लेखा नियन्त्रक कार्यालय नवलपुरको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा विकास निर्माणका काममा जिल्लाका लागि संघीय सरकारले रु.२ अर्ब ५१ करोड ९४ लाख छुट्टाएकोमा पुस मसान्तसम्म रु.२४ करोड ९९ लाख मात्रै खर्च भएको छ । त्यसै गरि कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गण्डकी प्रदेश सरकारले जिल्लाका लागी छुट्टाएको १ अर्ब २ करोड ७९ लाख मध्ये ६ प्रतिशत अर्थात ६ करोड ६७ लाख मात्रै खर्च भएको तथ्यांक छ ।

जिल्लामा संघीय सरकारको सबै भन्दा धेरै बजेट खर्च गर्नेमा जिल्ला प्रहरी कार्यालय रहेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो ६ महिनामा सबै भन्दा धेरै जिल्ला प्रहरी कार्यालयले ७५ प्रतिशत विकास बजेट खर्च गरेको छ भने बौदिकाली गाउँपालिकाकोको पुजीगत खर्च ५० प्रतिशत रहेको छ । आमचासोको योजनाको रुपमा जिल्लाबासीले हेरिरहिएको  नारायणघाट बुटवल सडक आयोजनाको पुर्वी खण्डले ६ महिनाको समयमा मात्रै ९ प्रतिशत पुजीगत बजेट खर्च गरेको हो ।

जिल्लामा ६ महिनामासंघीय सरकारले उपलब्ध गराएको चालू खर्चको ४६ प्रतिशत र प्रदेश सरकारले उपलब्ध गराएको चालू खर्चको २३ प्रतिशत खर्च हुँदा सोझै जनतासम्म पुग्ने विकास (पूँजीगत) बजेट न्यून खर्च भएको छ । कुल बजेटको दुईतिहाइ रकम दैनिक प्रशासनिक, कर्मचारीको तलबभत्ता लगायतका साधारण काममा खर्च भइरहेको छ ।

यसले देखाउँछ– विकास निर्माणको काम कछुवा गतिमा छ । सडक, पुलपुलेसा, सिंचाइ, खानेपानी, विद्युत् आयोजनालगायत विकास निर्माणका काम सुस्त भएपछि जिल्लाको पूर्वाधार निर्माणमा फड्को मार्ने समय पनि खेर गइरहेको छ । त्यसो त, विकास निर्माणमा जाने पूँजीगत खर्च कम भएको यस वर्ष मात्र होइन । बितेका वर्षहरुमा पनि विकासबारे सबैभन्दा धेरै मन्थन गरिएको विषय नै विनियोजित पूँजीगत बजेटको न्यून खर्च र असारे विकासबारे थियो । आर्थिक वर्षका अन्तिम दिनहरूमा बजेट सक्न हतारमा हारहुर खर्च गर्ने अर्थात असारे विकास प्रवृत्ति छ । बजेट रित्याउन गुणस्तरहीन काममा खर्च गरिने भएकाले आर्थिक वर्षको पुछारतिर हुने पूर्वाधार निर्माणको कामलाई ‘असारे विकास’ नाम दिइन्छ । खर्चमा अहिले सम्मको सुस्तता हेर्दा यो वर्ष पनि असारे विकासले निरन्तरता पाउने देखिन्छ ।

विकासका लागि कम रकम विनियोजन हुने र त्यसमाथि विनियोजित रकम नै खर्च नहुने परिपाटीले विकासको अवसरलाई झन् पर धकेलिरहेको छ । निजी लगानीलाई समेत प्रोत्साहित गर्ने पूँजीगत खर्च नै नहुनु रोजगारी सिर्जना र आर्थिक विस्तारका दृष्टिले अत्यन्तै चिन्ताजनक मानिन्छ ।

साउनमा आउने बजेटका कारण विकास बजेट खर्च नभएको निश्कर्ष निकाल्दै संविधानमै जेठ १५ मा बजेट प्रस्तुत गरेर आर्थिक वर्ष शुरू नहुँदै बजेट पारित भइसक्दा तथा अख्तियारी, निकासा प्रक्रिया र कार्यक्रम स्वीकृति जस्ता प्रक्रियागत झंझट हटाउँदा पनि विकास खर्चमा खासै सुधार हुन नसकेको हो ।

प्रकाशित : २०७८ माघ १२ गते १४:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI