प्रतिलिटर ८४ रुपैयाँ पर्ने पेट्रोलको मूल्य कसरी पुग्याे १४२ ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १९ गते २१:४६
प्रतिलिटर ८४ रुपैयाँ पर्ने पेट्रोलको मूल्य कसरी पुग्याे १४२ ?

काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । महिना दिन नपुग्दै फेरबदल हुँदै आएको पेट्रोलियम पदार्थको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अहिलेसम्मकै उच्च बिन्दुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य १४२, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको छ ।

महिना दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको नेपाल आयल निगमले भने अझैँ पनि सरकारी संस्था १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहेको विज्ञप्तिमार्फत भनेको छ ।

विज्ञप्तिमा २०७८/१०/०५ को मूल्यदरअुनसार भने १५ दिनमा २ अर्ब ६० करोड र महिना दिनको घाटा ५ अर्ब २० करोडले खाएर पेट्रोलियम पदार्थ बेचिरहेको भनिएको छ ।

निगमले मङ्गलवार राति १२ पछिको मूल्य समायोजनपछि पनि संस्थालाई पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको जनाएको छ ।

कुनमा कति घाटा

निगमले पेट्रोलमा १५ दिनमा प्रतिलिटर १३.२३ रुपैयाँले बेच्दा ४३ करोड घाटा, डिजेल प्रतिलिटर ११.१३ रुपैयाँले बेच्दा १५ दिनमा १ अर्ब १ करोड घाटा रहेको भनेको छ ।

यस्तै, मट्टितेल प्रतिलिटर रु १८.१२ (नाफा खाएर) बेच्दा १५ दिनमा २ करोड नाफा, हवाई इन्धन (आन्तरिकतर्फ) १०.५० ले बेच्दा १५ दिनको नाफा ३ करोड, हवाई इन्धन (बाह्यतर्फ) ३२.७२ ले नाफा खाएर बेच्दा १६ करोड नाफा, एलपी ग्याँस प्रति सिलिन्डर ५६०.९ रुपैयाँले बेच्दा १५ दिनमा १ अर्ब घाटा खानुपरेको विज्ञप्तिमार्फत भनेको छ ।

यहीँ अवस्थामा निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम मूल्य समायोजन गरेपछि पनि प्रतिमहिना साढे ४ अर्ब देखि ५ अर्बसम्म ऋण खोज्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

पछिल्लो समय निगमले सरकार मातहत रहेको मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ लिएर इण्डियन आयल कर्पाेरेशनलाई खरिदबापतको रकम भुक्तानी गरे पनि आगामी दिनहरुमा पेट्रोलियम पदार्थ खरिद गर्न कठीन हुने भनेको छ ।

अब, यस्तो अवस्थामा भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्न नसके समस्या आउने निगमले जनाएको छ । र, यस्तो अवस्थामा समस्याको समाधान गर्न कठीनाई पर्ने पनि निगमको अनुमान छ ।

तर, निगमको उक्त पाटोलाई उपभोक्ता अधिकारकर्मीहरू सहज रुपमा स्वीकार्न तयार छैनन् । उपभोक्ता अधिकारकर्मीहरू निगमले व्यवस्थापकीय पाटोतर्फ नहेर्ने केवल अन्तर्राष्ट्रिय बजारमा भाउलाई हेरेर जनतामाथि आर्थिक भार थोपरेको बताउँछन् ।

तर, अन्तर्राष्ट्रिय बजार अनुसार भारतको रक्सौल÷बरौनीमा मङ्गलवार ८४.३२ नेपाली रुपैयाँ पर्ने पेट्रोलको खरिद मूल्य काठमाण्डूमा भने १४२ तिर्नुपर्छ।

किन महंगो पेट्रोलियम पदार्थ ?

रक्सौल/बरौनीमा पेट्रोलियम पदार्थको भाउ सस्तो परे पनि निगमले त्यहाँबाट पेट्रोलियम पदार्थ खरिद गरेपछि राजस्व र मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ र त्यो पेट्रोलको मूल्यमा जोडिइन्छ।

जसभित्र भन्सार शुल्क, सडक मर्मत–संहार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्कलगायत जोडिन्छ । र, निगमले उपभोक्तामाथि आर्थिक भार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा बिक्री भएको पेट्रोलियम पदार्थको १ प्रतिशत रकम थप जम्मा गर्ने निगमको भनाइ छ ।

निगमका अनुसार रक्सौलदेखि काठमाण्डूसम्मको ढुवानी लागत ५.११ रुपैयाँ तिर्नुपर्छ भने उपभोक्तालाई अझैँ पनि १३.२३ रुपैयाँ सहुलियतमा पेट्रोलियम पदार्थ बेचिरहेको निगमको भनाइ छ ।

प्रकाशित : २०७८ माघ १९ गते २१:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI