घरमा कोहि नभएको मौका पारी देवचुली-१५ मा लाखौंको धनमाल चोरी

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख २६ गते २१:४३
घरमा कोहि नभएको मौका पारी देवचुली-१५ मा लाखौंको धनमाल चोरी

रामकुमार श्रेष्ठ, नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर नारायणी टोलमा देवीलाल रानाभाटको घर कोही नभएको मौका पारी चोरी भएको छ ।

घरका सबै मानिस तनहूको घिरिङ पहाड गएको बेला उनको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
स्थानीय बासिन्दा प्रितम भुजेलका अनुसार उनको घरबाट २४ तोला सुन, डेढ तोला चाँदी, १ लाख ७० हजार नगद नेपाली रुपैयाँ, ४ हजार नगद भारतीय रुपैया चोरी भएको पीडितले जनाएका छन् ।

उनीहरु विगत ५/७ दिन पहाड गएको र आज घर फर्किएर आउँदा मात्र चोरीको घटना थाहा भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक रेग्मीका अनुसार अपराधीको खोजी भईरहेको छ ।

रानाभाटको घरको मुल ढोका र अन्य कोठाहरुको समेत ताला फोडी चोरी भएको प्रहरीले जनाएको छ । उनको घरको दराज, कोठामा भएका सामानहरु लथालिङ अवस्थामा पाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०८१ वैशाख २६ गते २१:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI