खोजी सुरु गरेको २३ दिन हुदाँ पनि नियन्त्रणमा आउन सकेन बाघ

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २० गते १४:०९
खोजी सुरु गरेको २३ दिन हुदाँ पनि नियन्त्रणमा आउन सकेन बाघ

नवलपुर । विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास २३ दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।

१० दिन अघि बाघले एउटा गोरु खाएको स्थानमै (पुच्छ्रेखोलाको किनार) बाघले शिकार गरोस र त्यहि मौकामा बेहोस बनाएर नियन्त्रणमा लिन सकियोस् भनेर आहाराका लागि ५ दिन अगाडी पाडो बाँधेर राखिएको थियो । करीब रातीको १२ बजेको समयमा बाघ आएर त्यही पाडोे खाएर भाग्दा पनि बाघको खोजीमा निस्किएको टोलीले बाघलाई नियन्त्रणमा लिन भने सकेन ।

राति १२ बजेपछि बाघले पाडो खायो र भाग्यो; हामी बसुन्जेल आएन‚ हिँडेपछि पाडो खाएर बाघ भाग्यो‚’ बाघको खोजीमा रहेको टोलीका प्रमुख रहेका घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलले बताए । “आफैंले शिकार गरेको क्षेत्र वरपर बाघ बस्छ भन्ने छ तर यो बाघ त कता लुक्छ‚ लुक्छ हैरान पा¥यो‚” पौडेल भन्छन‚ ‘मान्छेको गतिविधि (मुभमेन्ट) थाहा पाएर नआएको हो कि भनेर मचानमै चढेर कुरेका छौं‚ आउछ कि भन्ने आश छ ।’

बाघले जंगल बाहिर आएर भने कुनै मानवीय क्षति एवं पशुको क्षति नगरेको र बाघ वन क्षेत्र भित्रै रहेकाले पनि खोजी कार्य कहिले सम्म गर्ने या रोक्ने विषयमा सम्बन्धित स्थानीय तह, जिल्ला वन र निकुञ्ज बीच छलफल गरेर थप निर्णय लिईने पौडेल बताउछन । “आज २३ दिन भै सक्यो, वन भित्रको बाघलाई कति दिन खोज्ने अब त्यो पाटो बाट सोच्नु पर्ने बेला आएको छ”, पौडेलले भने ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले पनि बाघको खोजी नरोकिए पनि थप कति समय सम्म खोजी गर्ने हो प्राविधीक टोली सँग छलफल गरेर निर्णय लिने बताए । “आजको दिन सम्म त खोजी कार्य जारी छ, अझै कति खोज्ने हो यस विषयमा प्राविधिक टाली सँग छलफल हुन बाकी नै छ”, काफ्लेले भने ।

विनयी त्रिवेणी गाउपालिकामा नरभक्षी बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । बाघको आक्रमणबाट त्रसित गाउँलेहरू अहिले घाँसदाउरा गर्न र चौपाया चराउन वन जान छाडेका छन् ।

 

प्रकाशित : २०७८ माघ २० गते १४:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI