किन घट्दैछन् फेसबुक प्रयोगकर्ता ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २१ गते १२:५७
किन घट्दैछन् फेसबुक प्रयोगकर्ता ?

नवलपुर – अग्रणी सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको संख्या घटेको छ।

फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको संख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो।

त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको संख्या एक अर्ब ९३ करोड थियो। मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लग्दा आफ्नो आम्दानी कम हुनसक्ने चेतावनी पनि दिएको छ।

ठूलो नोक्सान

उक्त विवरण आएको केही घण्टापछि न्युयोर्कमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो।

उक्त गिरावटले कम्पनीको मूल्यमा करिब २०० अर्ब डलर ह्रास आएको छ। ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यमहरूमा युवाहरूको आकर्षण बढेकोे बताए।

गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ।

उसले एपलको अपरेटिङ सिस्टमले लागु गरेका गोपनीयतासम्बन्धी परिवर्तनहरूले पनि आफूलाई प्रभाव पारेको जनाएको छ।

एपलको परिवर्तनले ब्रान्डहरूलाई आफ्ना लक्षित समुदाय पहिचान गर्न एवम फेसबुक र इन्स्टाग्राममा गरिएका आफ्ना विज्ञापनको मापन गर्न गाह्रो बनाएको थियो।
यो वर्ष उक्त कदमका कारण ‘१० अर्ब डलरसम्म’ प्रभाव पर्न सक्ने मेटाका प्रमुख वित्तीय अधिकारी डेभ वेह्नरले बताए।

मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरित ३३ अर्ब ६७ करोड डलर पुगेको थियो।

आगामी त्रैमासिकमा सो आम्दानी २७ अर्ब डलरदेखि २९ अर्ब डलरको बीचमा हुने र त्यो विज्ञहरूले अपेक्षा गरेभन्दा कम रहेको बताइन्छ।

मेटाले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्व रहेको टिकटकसँग प्रतिस्पर्धा गर्न भिडिओमा लगानी गरिरहेको छ।

तर उसले त्यसबाट फेसबुक र इन्स्टाग्रामभन्दा कम आम्दानी गर्छ।

जकरवर्गले विगतमा मोबाइल विज्ञापन र इन्स्टाग्राम स्टोरीमा गरेको लगानी जस्तै भिडिओ र भर्चुअल रिएलिटिमा गरेको लगानीले सकारात्मक परिणाम दिनेमा विश्वास व्यक्त गरेका छन्।

के मेटा ओरालो लाग्न थालेको हो?

फेसबुक सधैँ वृद्धि भइरहेको प्लेटफर्मका रूपमा रहेको थियो। अस्तित्वमा आएयता प्रत्येक त्रैमासिकमा उसको विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो।

तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा उक्त वृद्धि रोकियो। तर त्यसलाई बाँकी विश्वमा बढेको प्रयोगकर्ताको संख्याले ढाकिदियो।

फेसबुक विगतमा जस्तै युवा प्रयोगकर्तामाझ लोकप्रिय छैन। तर त्यसबाहेक अन्य कारणहरूले पनि लगानीकर्ताहरू मेटालाई लिएर चिन्तित छन्।

मेटाले मेटाभर्समा केन्द्रित हुन आफ््नो नाम परिवर्तन गर्‍यो। तर मेटा सफलता नजिक पुग्नसकेको छैन। मेटाभर्समा सफलताको सम्भावना रहेको जकरवर्गले ठानेका छन् र अर्बौं डलर लगानी पनि गरिएको छ।

तर त्यसमा ठूलो जोखिम छ। मेटाको तत्कालको समस्याको समाधान टिकटकलाई खरिद गर्नु रहेको विश्लेषण गरिएको छ।

तर अमेरिकी नियामक निकायले एकाधिकारसम्बन्धी कानुनका कारण त्यसो गर्न कहिल्यै दिने छैनन्।

र, फेसबुकलाई धेरैले विषाक्त ब्रान्डका रूपमा लिइरहेका छन्। त्यहाँ काम गर्नु १० वर्षअघि जस्तो रमाइलो छैन र त्यस कारण अब्बल प्रतिभाहरूलाई आकर्षण गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ।

मेटाका लागि आगामी दिनमा थप गम्भीर समस्या आउन सक्छन्। अहिलेको तथ्याङ्क त्यसको सुरुवात मात्रै हुनसक्ने क्लेटनको विश्लेषण छ।-बिबिसीबाट

प्रकाशित : २०७८ माघ २१ गते १२:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI