धौवादी फलाम खानीमा अनुमान गरिएभन्दा ५ करोड मेट्रिक टन बढी फलामको भण्डार

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ९ गते ११:१३
धौवादी फलाम खानीमा अनुमान गरिएभन्दा ५ करोड मेट्रिक टन बढी फलामको भण्डार

नवलपुर । नवलपु स्थित धौवादी फलाम खानीमा रहेको फलामको भण्डार यसअघि अनुमान गरिएभन्दा ५ करोड मेट्रिक टन बढी परिमाणमा रहेको फेला परेको छ ।

धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करीब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको हो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो ।

सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप ५ करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्दले फलाम खानीको भण्डार परिमाण यकिन गर्न खानीको पुनः अध्ययन गरिएको बताए । ‘फलाम खानीको ड्रिलिङ सम्पन्न भइसकेको छ,’ चन्दले भने, ‘खानीमा रहेको कच्चा फलामको भण्डार पहिलाको भन्दा बढी देखिएको छ ।’

खानी विभागकै विज्ञहरूको संलग्नतामा १ महीनाअघि अध्ययन सम्पन्न भएको जानकारी दिँदै उनले फलाम खानीको थप परिमाणको जानकारीले उत्साहित भएको बताए ।

आर्थिक वर्ष २०६७÷६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण शुरू गरिएको थियो । अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिक टन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ ।

कम्पनीले सम्भाव्यता अध्ययनका लागि आह्वान गरेको प्रस्तावमा ६ ओटा अन्तरराष्ट्रिय कम्पनीले प्रस्ताव गरेका छन् । उक्त खानीको उत्पादन क्षमता, उत्पादन प्रविधिलगायत लगानीका विषयमा यकिन गर्न कम्पनीले सम्भाव्यता अध्ययन गराउने भएको छ ।

कम्पनीका अनुसार आवेदन दिनेमा भारत, चीन, बेलायतलगायत कम्पनी रहेका छन् । अहिले आशयपत्र उपलब्ध गराएका कम्पनीहरूलाई आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न आह्वान गर्ने र त्यसको ३ महीनामा सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार पार्नुपर्ने कम्पनीका सीईओ चन्दले जानकारी दिए । सम्भाव्यता अध्ययनपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने काम शुरू गरिने उनले बताए ।

खानीसम्म बिजुली उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणको आयोजनासँग छलफल शुरू भइसकेको छ ।

चन्दका अनुसार उक्त खानीको फलाम उत्पादन तथा प्रशोधनका लागि करीब १२५ मेगावाट (मेवा) विद्युत् आवश्यक पर्ने आकलन गरिएको छ । यसको व्यावसायिक उत्पादनका लागि नेपालले अझै २ वर्षसम्म कुर्नुपर्ने देखिएको छ ।

खानी तथा प्रशोधनका लागि तयार गरिने कारखानासम्म बिजुली पु¥याउँदा त्यसमा पर्ने वन, वातावरणीय प्रभाव मूल्यांकन तथा यसको स्वीकृतिका लागि नै १ वर्षभन्दा बढी समय लाग्ने र डीपीआर तयार गर्नसमेत समय आवश्यक पर्ने भएकाले २ वर्षभित्र व्यावसायिक उत्पादन गर्न सकिने उनले बताए । देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौवादीमा १० किलोमीटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ ।-आर्थीक अभियान दैनिकबाट

प्रकाशित : २०७८ फागुन ९ गते ११:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI