अनलाइनमा यसरी सुरक्षित राख्नुहोस् आफ्ना बालबालिका

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ६ गते १५:४६
अनलाइनमा यसरी सुरक्षित राख्नुहोस् आफ्ना बालबालिका

काठमाडौं । हाम्रा बालबालिकाले अचेल मोबाइल, ट्याब्लेट, कम्प्युटर आदिबाट अनलाइन कक्षा लिने, इन्टरनेट चलाउने, गेम खेल्ने, गीतहरू सुन्ने, भिडिओ हर्ने लगायतका कार्यहरू गरिरहेका हुन्छन् । इन्टरनेटको प्रयोग गर्दा हाम्रा बालबालिकाहरूलाई त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी हुन्छ र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने हुन्छ ।

तसर्थ हाम्रा बालबालिकालाई इन्टरनेटबाट हुनसक्ने जोखिमबाट बचाउन निम्न उपायहरू अपनाउन नेपाल दूरसञ्चार प्राधिकरणले सुझाएको छ ।

के गर्ने अनि के नगर्ने ?

१. बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुहोस् र खुलेर कुरा गर्नुहोस् । यसका साथै त्यस बाे कुरा गर्न अभिप्रेरित समेत गर्नुहोस् ।

२. बालबालिकाले हेर्ने युट्युब, टिकटक लगायतका भिडिओ, चलाउने फेसबुक लगायतका सामाजिक र खेल्ने अनलाइन गेम आदि बारे आफूले पनि जानकारी राख्नुहोस् ।

३. यदि बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्छन् भने उनीहरूका साथीहरू कोको छन्, केके शेयर गर्छन्, कस्ता कुराकानी गर्छन् आदि बारे जानकारी राख्नुहोस् ।

४. बालबालिकाले मोबाइल, ट्याब्लेट वा कम्प्युटर चलाउने समयलाई सीमित गर्नुहोस् । बरु उनीहरूलाई खेलकुद, शारीरिक व्यायाम, ध्यान, योगा, संगीत जस्ता अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुहोस् ।

५. बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित  गतिविधिहरूको बारेमा जानकारी राख्नुहोस् र नियमित निगरानी गर्ने बानी बसाल्नुहोस् ।

६. बालबालिकाले नियमित रुपमा चलाउने अनलाइन क्लास आदिको लिङ्कलाई सहज पहुँचका लागि बुकमार्क गरी उनीहरूलाई सोको प्रयोग गर्न सिकाउनुहोस् ।

७. बालबालिकाले अनलाइनमा के हेर्दै वा गर्दैछन् भन्ने कुरा निगरानी गर्न उनीहरूले चलाउने कम्प्युटर, ट्याब्लेट वा मोबाइल आदिको स्क्रिन सबैले देख्नेगरी राख्नुहोस् ।

८. बालबालिकालाई आफ्नो युजर आईडी र पासवर्ड जस्ता व्यक्तिगत विवरण गोप्य राख्न सिकाउनुहोस् ।

९. बालबालिकालाई अनलाइनमा भेटेका साथीहरूलाई सकेसम्म भौतिक रुपमा भेट्न निरुत्साहित गर्नुहोस् ।

१०. बालबालिकाले प्रयोग गर्ने कम्प्युटरमा एन्टिभाइरस, एड ब्लकर, नेट क्राफ्ट वा चाइल्ड प्रोटेक्सन सफ्टवेयरहरू राख्नुहोस् ।

११. अनावश्यक र प्रयोग नहुने आईडी तथा अकाउन्टहरू बन्द गर्न लगाउनुहोस् ।

१२. आफ्नो इन्टरनेट सेवा, अपरेटिङ सिस्टम, एप्लिकेसनमा रहेको प्यारेन्टल कन्ट्रोल तथा चाइल्ड सेफ्टी फिचर प्रयोग गर्नुहोस् ।

१३. फ्रिवेयर, पाइरेटेड सफ्टवेयर तथा गेम, फ्रि म्युजिक तथा भिडिओ, अश्लील सामग्री उपलब्ध हुने असुरक्षित वेबसाइटको प्रयोग नगर्न सिकाउनुहोस् । त्यस्ता असुरक्षित वेबसाइटहरूले पठाउने पप-अप विन्डोज तथा ब्यानरमा प्रचारका लागि आउने लिङ्कमा क्लिक नगर्न भन्नुहोस् ।

१४. कम्प्युटर, ईमेल तथा इन्टरनेटको लिङ्क तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक गर्न वा खोल्न सिकाउनुहोस् । त्यस्ता लिङ्क तथा अट्याचमेन्ट सङ्कास्पद लागेमा नखोल्न भन्नुहोस् ।

१५. कुनै शङ्कास्पद गतिविधि र असहज परिस्थिति भएमा अभिभावकलाई जानकारी दिन बालबालिकालाई सिकाउनुहोस् र कुनै गम्भीर विषय भए सम्बन्धित निकायमा उजुरी दिनुहोस् ।

प्रकाशित : २०७८ चैत ६ गते १५:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI