कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते ९:०६
कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ ।

मन्त्री पौडेलले शिक्षामा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको जानकारी दिए ।

आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताए । उनले भने, ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।’

मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताए ।

सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको संघीय शिक्षा ऐन संसद अधिवेशनमार्फत अगाडि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित : २०७९ जेठ १० गते ९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI