हुप्सेकोटमा खानेपानीको समस्या किन बल्झिरहन्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते २०:४०
हुप्सेकोटमा खानेपानीको समस्या किन बल्झिरहन्छ  ?

राजु चापागाईं “राज”/नवलपुर
हुप्सेकोट गाउँपालिकामा अहिले खानेपानी मुख्य समस्या बनेर आएको छ । हुन त खानेपानीको समस्या पहिले पनि नभएको चाहिँ होईन । खोलामा पानीको बहाब बढेपछी कि खानेपानीको आपूर्ति रोकिन्थ्यो कि त धारामा धमिलो पानी झर्थ्यो । यो समस्या अहिले झन बढेको छ ।

हुप्सेकोटमा शहरी खानेपानी आयोजना भित्रीए पछि खानेपानीको समस्या रहदैन भनेर बिश्वस्त हुप्सेकोट बासीको अपेक्षालाई धाराबाट झर्ने धमिलो पानीले गिज्याईरहेको छ यतिबेला । यो समस्या अहिले हुप्सेकोट गाउँपालिकाका वडा नम्बर १,२,३,४ का अधिकांश जनताले भोगेको मुख्य समस्या हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अहिले लगभग ३४०० उपभोक्ता छन । जसमध्ये करिब २५०० वटा धारा संचालनमा रहेका छन ,बर्षा हुनासाथ त्यि घर परिवार सफा खानेपानीको आपूर्ति बाट बन्चित हुने गरेका छन । त्यसो त लागत सहभागीता बाट भित्र्याईएको योजना भएका कारणले पनि शहरी खानेपानी आयोजनामा यहाँका उपभोक्ताको अपनत्व बढेको बुझ्न सकिन्छ तर धारामा सफा पानी नआउदा त्यो अपनत्व अहिले आक्रोशमा बदलिएको छ ।

 

आखिर किन यो समस्या बल्झिरहेको छ त ?

शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष ओमन सिं रजालीले खानेपानी आयोजनाका पुर्वाधारहरु निर्माणाधिन रहेका कारणले पनि सफा खानेपानीको आपूर्तिमा समस्या भएको बताउँछन । “एकातिर शहरी खानेपानी आयोजनाका पुर्वाधार निर्माणाधिन छ । अर्को तिर ईन्टेक र पानी शुद्धिकरण गर्ने टृटमेण्ट प्लाण्ट पनि मर्मतको अवस्थामा रहेका कारण पनि धमिलो पानी आउने गरेको हो । ”

रजालिले पानीको शुद्धिकरण गर्ने प्लाण्ट बिग्रीएको र मर्मतको अवस्थामा रहेका कारण सफा पानी आपूर्ति हुन नसकेको बताउँछन । पानी शुद्धिकरण गर्ने प्लाण्टहरु मर्मतका कारण सिधै मुलबाट शुद्धिकरण नगरी पानी धारामा पठाउने गरिएको रजालिको भनाई छ । जसका कारण कहिलेकाही धमिलो पानीको आपूर्ति भएको हो । उनले बर्षा हुँदा पाईप बगाउने र बिकाश निर्माणका क्रममा पाईपहरु काटिनुले कहिलेकाही खानेपानीको आपूर्तिनै बन्द समेत हुने गरेको बताउँछन ।

रजालिले यस्तो समस्या बढ्दै गए ट्याङ्कीको ब्यवस्था गरेर सफा खानेपानी बितरण गर्ने विषयमा गाउँपालिका संग छलफल चलिरहेको जानकारी दिए ।

 

शहरी खानेपानी आयोजना कहिले सम्पन्न हुन्छ ?

 

देउराली हुप्सेकोट शहरी खानेपानी आयोजनाका प्रमुख विशाल केसिका अनुसार अहिले सम्म आयोजनाका ८२% काम सम्पन्न भईसकेको छ । २०७७ साल असार १ गतेबाट सुरु भएको आयोजनाको काम सम्झौता अनुसार अबको १ महिना भित्र सम्पन्न हुनुपर्ने थियो । तर कोभिड महामारीका कारण तथा अघिल्लो बर्षको असारे बाढिले मुलमा बिछ्याईएका पाईप लाईनमा क्षती पुर्याएकाले पुर्ब निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्ने केसि बताउँछन । अबको केही महिना भित्र आयोजना सम्पन्न गराएर उपभोक्तालाई सफा र स्वच्छ खानेपानीको आपूर्ति दिन सकिने केसिले नवलपुर टाईम्सलाई बताए ।

प्रकाशित : २०७९ जेठ २४ गते २०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI