कांग्रेसको सर्कुलर : समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाउने

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ ११ गते १०:२६
कांग्रेसको सर्कुलर : समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाउने

नवलपुर । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् ।

कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देश गरेको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला, १६५ वटै क्षेत्रीय र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन् ।

कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो । विधानको धारा ३३ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन नपाउने ब्यवस्था गरेको छ ।

कांग्रेसको विधानमा एउटै क्षेत्रबाट दुई जना उम्मेदवार नहुने समेत प्रष्ट व्यवस्था छ । यसैबीच, नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित : २०७९ भदौ ११ गते १०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI