भलिबल संघको अध्यक्षमा चन्द, नवलपुरका शर्मा केन्द्रिय सचिबमा सर्वसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २३ गते ८:११
भलिबल संघको अध्यक्षमा चन्द, नवलपुरका शर्मा केन्द्रिय सचिबमा सर्वसम्मत

नवलपुर । नेपाल भलिबल संघको बुधबार राति सम्पन्न निर्वाचनमा जितेन्द्रबहादुर चन्द अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

संघको नवौँ चुनावी साधारणसभामा चन्दले प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गरेका हुन् । निर्वाचनमा १२८ मत खसेको थियो । चन्दले ७६ मत प्राप्त गरे भने मास्केले ५० मत ल्याएकी थिइन् ।

२०४५ सालमा महाकाली अञ्चलबाट भलिबल खेल्न सुरु गरेका चन्द २०४८ सालमा काठमाडौं प्रवेश गरेका थिए । त्यसपछि पनि उनले भलिबललाई निरन्तरता दिए । २०६८ चैत ३० गते सम्पन्न पाँचौँ चुनावी साधारणसभाबाट चन्द भलिबल संघको महासचिव पदमा निर्वाचित भए । ११ वर्ष महासचिव पदमा रहेर काम गरेका चन्द बुधबार अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासचिव पदमा चन्द प्यानलकै रोशन श्रेष्ठ निर्वाचित भए । रोशनले ८५ मत प्राप्त गरे । उनका प्रत्यासी मनवीर छन्त्यालले ३९ मत ल्याए । कोषाध्यक्ष पदमा पनि चन्द प्यानलकै श्यामकृष्ण श्रेष्ठ ७८ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी रिता कोइरालाले ४६ मत पाइन् ।

सात उपाध्यक्षमध्ये वाग्मती प्रदेशमा भएको निर्वाचनमा गौतमप्रसाद लासिवा विजयी भए । लासिवाले ६४ मत पाउँदा उनको प्रतिद्वन्द्वी ज्योति केसीले ५९ मत प्राप्त गरिन् ।

बाँकी ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुनेमा गण्डकीबाट यामबहादुर गुरुङ, मधेसबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्कसिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का र लुम्बिनीबाट भीम ओली रहेका छन् ।

त्यस्तै, सात सविच पदमध्ये लुम्बिनी प्रदेशका लागि भएको चुनावमा झकबहादुर मिदुन विजयी भए । मिदुनले ७३ मत ल्याए । मिदुनका प्रत्यासी दीपक जीएमले ३७ प्राप्त गरे । सचिवमै प्रदेश एकका लागि भएको निर्वाचनमा विनोद सुवेदी ६५ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी विश्वराज धिमालले ४४ मत प्राप्त गरे ।

सचिवमा पनि बाँकी पाँच जना निर्विरोध निर्वाचित भएका थिए । कर्णालीबाट सोमबार श्रेष्ठ, मधेसबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना, वाग्मतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए ।

संघको केन्द्रीय सदस्यमा अन्जु श्रेष्ठ, चन्द्रबदना राई, जुनु पुनमगर, राजकुमार गुरुङ, राजबहादुर खड्का, जितेन्द्र खड्का, गंगा थापा, कुमार राई, दिपक लामा, प्रविण श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । ११ सदस्यका लागि २२ जनाको उम्मेद्वारी परेको थियो ।

संघमा ७७ जिल्लाबाट ७७ जना, सात प्रदेशबाट दुईजनाका दरले १४, कार्यसमितिका ३९ मध्ये ३६, तीन क्लब (न्यु डायमन्ड स्पोर्ट्सस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र), रेफ्री कमिसनबाट एकजना, राष्ट्रिय टिमका कप्तान दुई (महिला र पुरुष) गरी १३३ जना मताधिकार प्राप्त प्रतिनिधि थिए । त्यसमध्ये १२८ जनाले मतदान गरेका थिए ।

पराजित भएकी निरोज मास्केले नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेललाई नयाँ उचाइमा पु¥याउन उल्लेख्य भूमिका खेल्नु होला भन्दै फुलगुच्छासहित बधाई तथा शुभकामना दिएकी थिइन् ।  विजयी भएका सबै पदाधिकारीहरुले बुधबार साँझ नै सपथ ग्रहण गरेका थिए ।

प्रकाशित : २०७९ भदौ २३ गते ८:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI