गाईभैँसीको सुत्केरी खर्चमा ६ लाखकाे बजेट विनियोजन

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २८ गते ९:०३
गाईभैँसीको सुत्केरी खर्चमा ६ लाखकाे बजेट विनियोजन

पर्वत । यहाँकाे विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ ।

विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्नका लागि र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो ।

गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर जनाउँदै दक्षिणा राखेर उम्काउने गरिएको छ । नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ ।

उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिनुभयो । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्वीरसमेत संलग्न गर्नुपर्नेछ । जिल्लामा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने जनाउँदै कृषक स्थानीय गाईपालन गर्न छाडेका हुन् ।

पालिकाले न्यूनतम रु पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने सुरु गरेका थिए ।

भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रूपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका थिए । यस्तै भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन गरेको छ ।-रासस

प्रकाशित : २०७९ भदौ २८ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI