साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग ४-० ले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते २१:३९
साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग ४-० ले पराजित

नवलपुर । नेपाल फुटबलको उपाधि यात्रामा पुनः एकपटक भारत तगारो बनेको छ । नेपाली युवा टोली श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग ४–० ले पराजित भएको छ । यससँगै नेपाल फेरि उपाधिबाट वञ्चित भएको छ ।

पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो । तर, नेपालले त्यही लय फाइनलमा भने दोहाेर्‍याउन सकेन । यससँगै भारत नेपालसँग बदला लिँदै उपाधि उचाल्न सफल भएको छ । १५ वर्ष उमेर समूहमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

 

कोलोम्बोको रेडकोर्ष मैदानमा भारतले १८औँ मिनेटमा बबी सिंह ऐनद्रिमबमको गोलबाट अग्रता लिएको थियो । ६ यार्ड बक्समा अनमार्क रहेका बबी सिंहले कप्तान बनलालपेका गुइटेको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् । ३०औँ मिनेटमा कोरोउ सिंह थिङगुजामले भारतका अग्रता दोब्बर बनाए । कोरोउले पनि गुइटेकै पासमा गोल गरेका हुन् ।

दुई गोलले पछि परेको नेपाल ३९औँ मिनेटमा कप्तान प्रशान्त लक्षमले रातो कार्डको सामना गरेपछि झन दबाबमा परेको थियो । प्रशान्तले भारतका ड्यानी लैश्रमलाई कुहिनाले हानेपछि रेफ्रीले सिधै रातो कार्डको दर्शन गराएका थिए

दश खेलाडीमा सिमित भएर खेलेको नेपालले ६३औँ मिनेटमा अर्को गोल खाएको थियो । भारतका कप्तान गुइटेले दर्शनीय गोल गरेका थिए । उनले बाँया भागबाट गरेको क्रस सिधै गोलमा परिणत भएको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी अमनले अर्को गोल थपेका थिए ।

भारतले सेमिफाइनलमा बंगलादेशलाई २–१ ले हराएको थियो भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रकाशित : २०७९ भदौ २९ गते २१:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI