नेपाल बंगलादेशसँग ३–० ले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३ गते ८:२९
नेपाल बंगलादेशसँग ३–० ले पराजित

कावासोती । अन्तिम खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग पनि पराजित भएपछि नेपाली युवा टोली बहराइनमा सम्पन्न एएफसी यू–२० एसियन कप छनोटमा जितविहीन बनेको छ ।

आइतबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । पहिलो खेलमै नेपाल तुलनात्मक रुपमा सबैभन्दा कमजोर मानिएको दक्षिण एसियाकै अर्को प्रतिद्वन्द्वी भुटानसँग पराजित भएको थियो । त्यो हारबाट कमजोर बनेको नेपाली टोलीको मनोबल माथि उठ्नै सकेन ।

गएरातिको खेलमा नेपाली टोलीका अजय चौधरीले २६ औँ मिनेटमा रातो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । कप्तान आयुष घलानले पनि ३५ औँ मिनेटमा रातो कार्डको सामना गरेपछि नेपाल ९ खेलाडीमा सीमित भयो ।

त्यस्तै, अजिजुल हक अनान्तोले दोस्रो पहेँलो कार्डको सामना गरेपछि बंगलादेश पनि १० खेलाडीमा सीमित भएको थियो ।

बंगलादेशले छैटौँ मिनेटमै मोहम्मद मोजिबोर रहमान जोनीले गरेको गोलबाट अग्रता लिएको थियो । ११ औँ मिनेटमा पिएश अहमद नोभाले बंगलादेशको अग्रता दोब्बर बनाए । ५२ औँ मिनेटमा साजेद हसन जुमोन निजुमले तेस्रो गोल थपेका थिए ।

नेपाल रहेको समूह ‘बी’बाट कतार शीर्ष स्थानमा रह्यो । नेपाल अंकविहीन बनेर पुछारमा रह्यो । भुटान चौथो र बंगलादेश तेस्रो स्थानमा रह्यो । आयोजक बहराइन दोस्रो स्थानमा रह्यो ।

समूह ‘बी’बाट कतारले मात्र उज्वेकिस्तानमा हुने एएफसी एसियन कपमा स्थान बनाउन सफल भयो । छनोट प्रतियोगिताको १० समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता उज्वेकिस्तानका लागि छनोट भएका छन् ।

पहिलो खेलमा भुटानसँग २–० ले पराजित नेपाल दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० ले पराजित भएको थियो ।

प्रकाशित : २०७९ असोज ३ गते ८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI