बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २५ गते १४:३९
बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

भरतपुर– मानव बस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।

उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । उनले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताए ।
नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिए । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।

प्रकाशित : २०७९ असोज २५ गते १४:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI