प्रहरीकाे ट्रकले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ६ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ५ गते ८:४१
प्रहरीकाे ट्रकले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ६ जना घाइते

कपिलवस्तु । सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । साइकलमा सवार एक सर्वसाधारण यात्रु र ट्रकचालक प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालकसमेत रहेका सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । उहाँहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते हुनुभएको छ । उहाँहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रकाशित : २०७९ कार्तिक ५ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI