दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २० गते ७:४५
दक्षिण कोरियालाई  पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा

कावासोती । अन्तिम १६ को खेलमा सोमबार दक्षिण कोरियालाई ४–१ ले पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

कतारको रंगशाला ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउँन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाक्वेइटाले गोल गरे । दक्षिण कोरियाका सेयुङ हो पाइकले सान्त्वाना गोल फर्काए । ब्राजिलले चारै गोल पहिलो हाफमा गरेको हो ।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । १३औं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

दक्षिण कोरियाका हुन ह्वान किमले १८ यार्ड बक्सभित्र रिचार्लिसनमाथि फाउल गरेपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । जसमा नेइमारले कुनै गल्ती गरेनन् ।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रतालाई ३–० मा पूर्याए । यस्तै, ३६औं मिनेटमा पाक्वेइटाले गोल गर्दै ब्राजिललाई ४–० को सहज अवस्थामा पुर्याए ।

दक्षिण कोरियाका पाइकले ७६औं मिनेटमा गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

विश्वकपको प्रिक्वार्टरफाइनलमा ब्राजिल सन् १९९० यता अपराजित छ । १९९० मा भने ब्राजिल अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।

दक्षिण कोरियालाई हराएसँगै ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गरेको छ । क्रोएसियाले पनि सोमबारै भएको खेलमा अर्को एसियाली मुलुक जापानलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित : २०७९ मंसिर २० गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI