माघ ५ गते देखि चौथो देवचुली महोत्सव

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २ गते १६:२७
माघ ५ गते देखि चौथो देवचुली महोत्सव

एलिना केसी/देवचुली
आगामी माघ ५ गतेदेखि १५ गतेसम्म देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ५ गते देखि चौथो देवचुली महोत्सव हुन लागेको हो ।

 

शनिबार देवचुली उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै संघका अध्यक्ष सुर्य प्रसाद दवाडीले देवचुली नगरपालिकाको आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थान गर्न, स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा औद्योगिक नगरीको रुपमा राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा चिनाउने साथै उद्योग, व्यापार र पर्यटनको समन्वय गरी समृद्ध समुन्नत राष्ट्रको निर्माणमा अतुलनीय योगदान पुर्याउने अभिप्रायका साथ चौथो देवचुली महोत्सव २०७९ आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष दवाडीका अनुसार देवचुली नगरपालिका वडा नं १७ फारम बरचुली माध्यमिक विद्यालय नजिकै रहेको खुल्ला मैदानमा महोत्सव हुने जानकारी गराउनुभयो । महोत्सव पश्चात नवलपुर जिल्लाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास राखिएको छ । महोत्सवमा १ लाख ५० हजार भन्दा बढि दर्शकलाई प्रत्यक्ष अवलोकन गराउने साथै १५ करोडको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा थप आकर्षणका रुपमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झूलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी , संग्रालहय सामाग्री प्रदर्शनी , विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी , हस्तकला मुर्तीकला प्रदर्शनी सहित विभिन्न सांस्कृतिक कार्यक्रम रहनेछन् । यसैगरि महोत्सव अवधिभर विद्यालय स्तरीय नृत्य प्रतियोगिता, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, आमा समूहबिच हाजिरी जवाफ प्रतियोगिता, भजन प्रतियोगिता, खेलकुद प्रतियोगिता र देवचुली डान्स आइडल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

महोत्सवबाट बचेको रकम मध्ये ७० प्रतिशत रकम संस्थाको पक्कि भवन निर्माणमा खर्च गरिने छ भने बाँकी रकम शिक्षण संस्था, पर्यटन प्रबद्र्धन तालिम अवलोकन भ्रमण र सचेतना कार्यक्रम लगाईने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । महोत्सवमा १ सय ५० प्रदर्शनी स्टल रहने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

पत्रकार सम्मेलनको अध्यक्षता देवचुली उद्योग वाणिज्य संघको अध्यक्ष सुर्य प्रसाद दवाडीले गर्नुभएको थियो भने देवचुली वडा नं १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका पदाधिकारी, निवर्तमान अध्यक्ष रेशमलाल सापकोटा, वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसाल, वरचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारी, शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा प्रमुख अतिथी रहनुभएका देवचुली १७ का वडाध्यक्ष चालिसेले चौथो देवचुली महोत्सव सव्य र भव्य रुपमा सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष दवाडीले दिनुभएको थियो । कार्यक्रमको सहजीकरण देवचुली उद्योग वाणिज्य संघका सचिव विनोद सिलवालले गर्नुभएको थियो । देवचुली उद्योग वाणिज्य संघले विगतका केही बर्ष देखि निरन्तर महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित : २०७९ पुष २ गते १६:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI