मदारबाबा मेलामा चहलपहल सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २५ गते १४:१५
मदारबाबा मेलामा चहलपहल सुरु

पूर्वी नवलपरासी — दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् ।

दाउन्ने डाँडाको टाकुरामा रहेको मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारबाबा मेलामा हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको उत्तिकै घुइँचो लाग्छ । भोलिबाट १० दिनसम्म सञ्चालन हुने मेलामा बजार राख्नेहरूको दुई दिनअघिदेखि नै भीडभाड लागेको छ । मदारबाबा जाने कच्ची बाटोको दुवैतर्फ पसल थाप्नेहरू दुई दिनअघिदेखि यहाँ आएका छन् । बाटामा छाप्रा र अस्थायी टहरा बनाएर फूल, प्रसाद, ध्वजापताका खाद्यान्न पसल र होटल राखेका छन् ।

लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकाको महलबारीमा रहेको मस्जिदबाट करिब ४, ५ घण्टा ठाडो उकालो हिँडेपछि मदारबाबा थान (मुस्लिम धर्मावलम्बीको पूजा गर्ने स्थान) मा पुगिन्छ । यहाँ नेपाल भारतका हजारौँ तीर्थालुहरू आउने गर्छन् । दाउन्ने डाँडाको टाकुरामा सयौं वर्षअघि मुस्लिम धर्मावलम्बीका गुरूले तपस्या गरेको स्थल छ । त्यही स्थललाई मदार बाबाका नामले प्रसिद्धी पाएको छ । त्यहाँ मुस्लिम पराम्पराअनुसार आउँदो फागुन ५ गतेसम्म पूजाआजा गर्ने चलन छ । त्यहाँ पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासले भारत–नेपालका हजारौँ तीर्थालु र भक्तजनहरू मन्दिर (मदारबावाको तपस्यास्थल) मा आउने गर्छन् ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मेला व्यवस्थित गर्न त्यहाँ सुरक्षाको राम्रो व्यवस्था गरिएको जानकारी दिए । मन्दिर रहेको स्थान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा पर्दछ भने प्रवेशस्थल लुम्बिनी प्रदेशको महलबारीबाट सुरु हुन्छ । दुवैतर्फका सुरक्षा निकायलाई खटाएर त्यहाँ एकीकृत सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ लम्सालले बताए ।

मदारबाबा मेला व्यवस्थापन समितिका पूर्वअध्यक्ष जमाल उद्धिन अन्सारीले १० दिनको यो मेलामा ७ लाखभन्दा बढी श्रद्धालुहरू आउने बताउँछन् । हरेक दिन एक लाखको हाराहारीमा श्रद्धालुहरू आउने उनको दाबी छ । भारतको पनि निकै टाढाबाट यहाँ श्रद्धालु आउने उनले सुनाए । जंगलैजंगल र धुलाम्मे बाटो भएर भक्तजनहरू मदारबाबा थानमा पुग्ने गर्छन् । दाउन्ने पहाडको डाँडामा मदारबाबा थान रहेको छ । मुस्लिम मन्दिर रहे पनि हिन्दु र अन्य धर्मावलम्बीहरूको उत्तिकै आर्कषण रहेको उनको भनाइ छ । महलबारी बजारबाट करिब ६ किलोमिटर ठाडो उकालो हिँडेपछि मदारबाबा थानमा पुगिन्छ । त्यहाँ जंगलैजंगल र धुलाम्मे बाटो हुँदै भक्तहरू पैदल जाने गर्छन् । स्थानीय भीम न्यौपानेले बिहीबारबाट मेला सुरु हुने भए पनि दुई दिनअघि नै स्थानीयहरू आएर पसल राखिसकेको बताए ।

प्रकाशित : २०७९ माघ २५ गते १४:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI