कुवेतलाई १०० रनमा समेट्दै नेपालको लगातार दोस्रो जित

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १३ गते १७:२६
कुवेतलाई १०० रनमा समेट्दै नेपालको लगातार दोस्रो जित

कावासोती । आकाश चन्दको ६ विकेटको सहयोगमा यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई १०० रनमा समेट्दै लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा सीमित हुँदै अलआउट भयो ।

कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए, अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रन र यासुफ सिद्धिक १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिए । उनले ९ ओभरमा ४३ रन खर्चिए । हेमन्त धामी र दिपेश कँडेलले २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए । विशाल विक्रम केसी २३ रनि र दीपक बोहरा १९ रनमा पभेलियन फर्कँदा दीपक प्रसाद डुम्रे २० रनमा अविजित हरे ।

कुवेतका आर्स साहिल काज्मी र हेनरी थोमसले दुई–दुई विकेट लिँदा हाइबेर अली र जय महेशकुमार मेहेताले समान एक विकेट लिए ।

विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले तेस्रो खेल सोमबार हङकङ, चौथो मङ्गलवार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ ।

सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४मा श्रीलंकामा आयोजना हुने यू१९ विश्वकप खेल्नेछ ।

प्रकाशित : २०७९ फागुन १३ गते १७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI