गण्डकी : राप्रपाका मन्त्रीले राजीनामा दिदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १४ गते ८:५८
गण्डकी : राप्रपाका मन्त्रीले राजीनामा दिदै

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशबाट पनि बाहिरिने तयारी गरेको छ । गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका छन् । उनले राजीनामा बुझाउने तयारी गरेको बताएका छन् ।

‘म काठमाडौंबाट आउँदै छु, माथिको निर्णय हामीले मान्नुपर्ने हुन्छ, पोखरा आएपछि सल्लाह गरेर आइतबार राजीनामा दिन्छु,’ गुरुङले भने ।

गुरुङ मुख्यमन्त्रीसँगै पुस २५ गते विना विभागीय मन्त्री भएका थिए । त्यसको १५ दिनपछि पुस १० गते उनलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको थियो ।

एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा अन्य दलमा माओवादी केन्द्र, राप्रपा सहभागी छन् । एमालेबाट मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगर र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ बनेका छन् ।

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली छन् ।

प्रकाशित : २०७९ फागुन १४ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI