यूएईविरुद्ध टस जितेर नेपाल फिल्डिङमा : सन्दीप प्लेइङ–११ मा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १८ गते ११:५२
यूएईविरुद्ध टस जितेर नेपाल फिल्डिङमा : सन्दीप प्लेइङ–११ मा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

बिहीबार शृंखलाको तेस्रो खेलका लागि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गरे । यूएईलाई ब्याटिङको निम्तो दिए ।

नेपाली टिमको सुरुआती–११ मा स्पिनर सन्दीप लामिछानेले पनि स्थान बनाएका छन् । सन्दीप हिजो (बुधबार) मात्र शृंखलाका लागि यूएई पुगेका हुन् । नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई सर्वोच्च अदालतले विदेश भ्रमणको अनुमति दिएपछि उनी यूएई प्रस्थान गरेका हुन् ।

शृंखलामा नेपाल र यूएई दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई चार विकेटले पराजित गरेको थियो । यूएई भने पीएनजीसँग १३१ रनले पराजित भएको थियो ।

लिग–२ मा पछिल्ला पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल २९ खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको यूएई पाँचौँ स्थानमा छ । नेपालले २९ मध्ये १३ खेल जितेको छ । १४ खेल हारेको छ । एक खेल नतिजाविहीन र एक खेल ‘टाई’ भएको थियो । यूएईले २९ मध्ये १३ खेल जितेको छ । १३ हारेको छ । दुई खेल नतिजाविहीन र एक ‘टाई’ भएको थियो ।

नेपाली टिम 
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र गुल्सन झा ।

प्रकाशित : २०७९ फागुन १८ गते ११:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI