पूर्व सांसद महत गण्डकी प्रदेशको दुग्ध विकास बोर्ड उपाध्यक्ष नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २६ गते २०:०४
पूर्व सांसद महत गण्डकी प्रदेशको दुग्ध विकास बोर्ड उपाध्यक्ष नियुक्त

कावासोती । गण्डकी प्रदेशको दुग्ध विकास बोर्डमा एमालेका नेता एवं पूर्व सांसद तिलबहादुर महत नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।

२०७५ मा ऐन पारित भए पनि बोर्डले गर्ने काम र क्षेत्रबारे विवाद भएका कारण उपाध्यक्ष नियुक्त हुन सकेको थिएन । केन्द्रमा सत्ता समीकरण फेरिएर राजनीतिक हलचल भइरहेका बेला अधिकारी सरकारले पूर्व सांसदलाई जागिर खुवाउने गरी निर्णय गरेको हो । उपाध्यक्षको कार्यकाल ४ वर्षको रहने र सुविधा प्रदेश सहायक मन्त्रीसरह हुनेछ । महत मुख्यमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार बन्ने चर्चा थियो । महत नवलपुर क्षेत्र नम्बर २ मा कांग्रेसका विष्णु कार्कीसँग प्रतिनिधि सभा सदस्यको चुनाव हारेका हुन् । २०७४ को चुनावमा भने महतले कार्कीलाई हराएका थिए । तर उनले अहिलेसम्म कार्यभार भने सम्हालेका छैनन् ।

उपाध्यक्षका लागि कृषि क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको वा नीति निर्माणमा कम्तीमा ५ वर्षको अनुभव भएको व्यक्ति उपाध्यक्ष हुनसक्ने व्यवस्था छ । तर, उपाध्यक्ष हुनका लागि चाहिने अरु योग्यता, उपाध्यक्षको काम, कर्तव्य र अधिकार नै ऐनमा प्रस्ट भनेको छैन । यसका लागि नियमावली चाहिन्छ ।

गण्डकी प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ चीनको सिएएएमसीमार्फत् नेपालकै ठूलो गाई फार्म सञ्चालन गर्ने उद्देश्यले यो बोर्डको परिकल्पना गरेको हो । गण्डकी प्रदेश सरकारको समेत लगानी रहने काउफार्मका लागि २० करोड रुपैयाँ दिने निर्णय भए पनि कार्यान्वयन भने हुन सकेको छैन । काउफार्मका लागि तनहुँको शुक्लागण्डकी र स्याङ्जाको पुतलीबजारमा सयौं रोपनी जग्गा कम्पनीका नाममा लिइसकेको छ ।

प्रकाशित : २०७९ फागुन २६ गते २०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI